काठमाडौं। भारतको जम्मू-कश्मीरको शोपियाँ जिल्लामा सुरक्षा बल र आतंकवादीबीच भएको भिडन्तमा लश्कर–ए–तैयबाका तीन अधिकारी मारिएका छन् । जानकारी अनुसार भिडन्त केल्लरको शुकरू वन क्षेत्रमा भएको हो ।
एक उच्च प्रहरी अधिकृतका अनुसार केही आतंकवादी लुकेर बसेको सूचनाका आधारमा केल्लरको जंगल क्षेत्रमा सुरक्षाकर्मीहरूले व्यापक घेराबन्दीसहित खोजी अभियान चलाएका थिए ।
त्यसक्रममा प्रहरीले जंगलभित्र खोजी थालेकै बेलामा आतंकवादीहरूले गोली चलाएका थिए । त्यसको जवाफमा सुरक्षाकर्मीहरूले गोली चलाउँदा लश्कर–ए–तैयबाका तीन आतंकवादी मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सेनाको आधिकारिक एक्स (पूर्व ट्विटर) ह्यान्डलमार्फत् एउटा पोस्ट गर्दै ‘अपरेसन केल्लर’ अन्तर्गत आतंकवादी मारिएको जानकारी दिइएको छ । पोस्टमा अपरेसनको नामसहितको तस्वीर पनि शेयर गरिएको छ ।
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय सेना लगातार आतंकवादी विरुद्धको कारबाहीमा जुटिरहेको छ।
यसअघि भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानका थुप्रै आतंकवादी ठेगानामा हमला गरेको थियो । सो अपरेसन अन्तर्गत भारतीय सशस्त्र बलले ६–७ मेको रात पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके)मा रहेका ९ आतंकवादी ठेगाना ध्वस्त पारेका दाबी गरिएको छ ।
उक्त अपरेसनमा १०० भन्दा बढी आतंकवादी मारिएको र पाकिस्तानका थुप्रै एयरबेस ध्वस्त भएको सेनाको दाबी छ । यो घटनापछि हाल भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १६ : ४९
लेखकबाट थप