किम जोङ उनको अवस्था नजिकबाट नियालिरहेका छौं : अमेरिकी विदेशमन्त्री पोम्पेओ

विहीबार, १८ बैशाख २०७७, ०९ : ३३
किम जोङ उनको अवस्था नजिकबाट नियालिरहेका छौं : अमेरिकी विदेशमन्त्री पोम्पेओ

एजेन्सी । विश्वलाई कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको विषयले पनि धेरैको ध्यान तान्न सफल भएको छ । मुटुको शल्यक्रिया गरिएपछि उनको स्वास्थय अवस्था सार्वजनिक नहुंदा विभिन्न टिकाटिप्पणी हुन थालेको छ । अमेरिकी अधिकारीले उत्तर कोरियाका नेता किम जोङ–उनलाई  केही दिनयता नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरहरुको बारेमा नजिकबाट नियालिरहेको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले किमको अवस्थाको वास्ताविकताबारे नजिकबाट नियाली रहेको बताएका छन् । उत्तर कोरियाका नेता किम पछिल्लो पटक अप्रिल १२ मा राष्ट्रिय सञ्चारमाध्यममा देखिएका थिए ।त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको छ । तर उत्तर कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको र उनी ‘जीवित र स्वस्थ’ रहेको बताएका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता वुन्सानमा रहेको रिसोर्टमा आफूलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि बसिरहेको दाबी सहितका खबर पनि आएका छन् । कोरोना भाइरसको महामारीका कारण जनवरीको अन्त्यतिर उत्तर कोरियाले आफ्ना सबै सीमा बन्द गरेको थियो । फक्स न्यूजसँग अमेरिकी विदेश मन्त्री पोम्पेओले उत्तर कोरियाका नेता किमबारे भने, ‘हामीले उनलाई देखेका छैनौँ, आजको दिनसम्म उनीबारे हामीसँग कुनै जानकारी छैन । हामीले नजिकबाट नियाली रहेका छौँ ।’

उनले अघि भने, ‘उत्तर कोरियामा हाल भोकमरीको संकट उच्च रहेको र खाद्यान्नको अति अभाव हुन सक्ने जोखिम पनि छ ।’ उत्तर कोरियाका सबै गतिविधि र चासोमाथि अमेरिकाले नजिकबाट नियाली रहेको उनले दाबी गरे । उत्तर कोरियामा सन् १९९० को दशकमा फैलिएको गम्भीर भोकमरीका कारण हजारौं मानिसको मृत्यु भएको थियो। विदेशमन्त्री पोम्पेओले किम बारे तत्कालका लागि केही जानकारी नरहेको बताए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार किमको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको तर त्यसबारे नबताउने भनेका थिए । ट्रम्पले उनका लागि कामना भने गर्ने बताएका थिए ।

नेता किम अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका छन् । नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका छैनन् ।त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् । कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस