अनलाइन कक्षा सञ्चालन गर्न प्याब्सनको निर्देशन, नयाँ भर्ना अझै अनिश्चित

बुधबार, १७ बैशाख २०७७, ०८ : ३२
अनलाइन कक्षा सञ्चालन गर्न प्याब्सनको निर्देशन, नयाँ भर्ना अझै अनिश्चित

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ । प्याब्सनले लकडाउनपछि पनि विद्यालय खुल्ने अनिश्चित भएपछि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले वैशाख २२ बाट कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय कमिटीलाई निर्देशन गरेको बताए । प्याब्सन केन्द्रीय कार्यसमितिको हालै बसेको अनलाइन बैठकले कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । अध्यक्ष पुरीले कक्षा सञ्चालन नगर्दा विद्यार्थीको पठनपाठन डामाडोल हुने र शैक्षिक सत्रको क्यालेन्डरमा समेत असर पर्ने भएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए ।

तर, नयाँ भर्नाको विषयमा कुनै निर्णय नभएको प्याब्सनको भनाइ छ । प्याब्सनले लकडाउन लम्बिए नयाँ भर्ना गर्ने विषयमा निर्णय लिने जनाएको छ । प्याब्सनले लकडाउन खुलेपछि मात्रै भर्ना लिने आन्तरिक तयारी गरिरहेको छ । तर, केही विद्यालयले पढाइसँगै भर्ना खोल्नुपर्ने जनाउँदै आएका छन् । प्याब्सनअन्तर्गतका अधिकांश विद्यालयले अस्ति १५ गतेबाट परीक्षाफल प्रकाशित गरिसकेका छन् ।

केही ठूला विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गरिसकेका छन् । विद्यालयमै उपस्थित भएजस्तो पढाइ नहुने भए पनि विद्यार्थीलाई व्यस्त गराउन प्याब्सनअन्तर्गतका विद्यालयले अनलाइन पढाइ शुरू गर्न लागेको हो ।नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस