तनहुँका विभिन्न स्थानीय तहमा नियमित खोप सेवा पुनःसञ्चालन

मंगलबार, १६ बैशाख २०७७, १४ : ३६
तनहुँका विभिन्न स्थानीय तहमा नियमित खोप सेवा पुनःसञ्चालन

दमौली । बन्दाबन्दीका कारण रोकिएको नियमित खोप कार्यक्रमलाई तनहुँका विभिन्न स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्रपछि  सुचारु गरेका छन् । व्यास नगरपालिकाले यही वैशाख ९ गतेदेखि नै खोप कार्यक्रम शुरु गरिसकेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले सतर्कता अपनाउँदै बन्दाबन्दी जारी रहदा पनि नियमित खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका–१४ वडामा ५४ खोप केन्द्रमा एक हजार ७५० बालबालिका आबद्ध छन् ।

    प्रमुख सोतीका अनुसार दुई वटा खोप केन्द्रमा बालबालिकालाई खोप दिन शुरु भइसकेको छ भने अन्य खोप केन्द्रमा तालिका बनाएर खोप कार्यक्रम शुरु गरिनेछ । “कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहे पनि मन्त्रालयले  सतर्कता अपनाएर खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि  सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो ।

    जिल्लाको शुक्लागण्डकी नगरपालिकामा सोमबारबाट खोप सञ्चालन भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सबै वडामा नियमित खोप शुरु गरेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । उहाँका अनुसार २० गतेसम्म नगरपालिकाभित्रका १२ वडाका १२ वटै स्वास्थ्य संस्थाबाट सञ्चालन गरिनेछ ।

    भानु नगरपालिकाले वैशाख १९ गतेदेखि खोप शुरु गर्ने जनाएको छ । स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार नगरपालिका क्षेत्रभित्र २८ वटा खोप केन्द्र छन् । त्यस्तै म्याग्दे गाउँपालिकाले अगामी जेठ २ गतेदेखि खोप कार्यक्रम शुरु गर्ने स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकामा १५ वटा खोप केन्द्र रहेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि नियमित खोप सञ्चालन गर्ने तयारी गरेका छन् ।

    गत चैत १० गतेसम्म खोप कार्यक्रम नियमित भएकामा बन्दाबन्दी शुरु भएपछि स्थगित गरिएको थियो । सो मन्त्रालयले कोभिड–१९ को संभावित जोखिमका समयमा  खोप कार्यक्रम सञ्चालन गर्न मार्गदर्शन जारी गरेको थियो । बालबालिकालाई जन्मदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिने गरिएको छ । खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने सो मार्गदर्शनमा रहेको जनाइएको छ । 

    बालबालिका जन्मनेबित्तिकै बिसिजी, ६ हप्तामा पोलियो, एफआइपिभी, पिसिभी, डिपिटी, हेप बी हिब, रोटा, १० हप्तामा पोलियो, पिसिभी, डिपिटी, हेपबिहिब, रोटा, १४ हप्तामा पोलियो, एफआइपिभी, डिपिटी, हेपबीहिब, नौ महिनामा पिसिभी, दादुरा–रुबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रुबेलाविरुद्धको खोप नियमितरुपमा लगाउनुपर्छ ।  (रासस)