एकलौटी अघि बढ्ने प्रधानमन्त्रीको निर्णयले सीमा नाघेको छ : नेता शर्मा

पत्रपत्रिकाबाट

सोमबार, १५ बैशाख २०७७, ०७ : ४५
एकलौटी अघि बढ्ने प्रधानमन्त्रीको निर्णयले सीमा नाघेको छ : नेता शर्मा

फाईल फोटो

काठमाडौँ । अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक माग गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

यसै सन्दर्भमा नेकपाका स्थायी कमिटी सदस्‍य जनार्दन शर्मासँग  बिनु सुवेदीले गरेको कुराकानी : 

पार्टी एकीकरण हुने बेलामा दुई अध्यक्ष मिलाउने कोर टिममा हुनुहुन्थ्यो, यो दुई वर्षको बीचमा त अध्यक्षहरू धेरैपटक दुई धारमा देखिए। एकताका बेला के त्यस्तो कमजोरी भयो र यति छिट्टै समस्या आयो?
जुन उद्देश्यमा आधारित भएर पार्टी एकता गरिएको हो, त्यसमा प्रधानमन्त्रीजी टिक्नुभएन। उहाँलाई एकलौटी सरकार सञ्चालन गर्नेसमेत अधिकार दिइयो तर उहाँले सहमति–सम्झौताभन्दा पार्टी एकताको मर्मविपरीत विधेयक ल्याउनुभयो। पार्टी र विधिलाई महत्त्व दिनुभएन। आफ्नो एकलौटी सोच र धारणबाट चल्नुभयो। त्यसले नै गडबड भएको हो। त्यही कुरालाई सच्याउनुपर्ने भएकाले हामीले पार्टी बैठक माग गरेका छौं। बिगार्दाखेरी प्रधानमन्त्रीले बिगार्ने र जिम्मा पार्टीले लिने जुन खालको परम्परा बनेको छ, त्यो अन्त्य गर्न हामीले चाहेका हौं।

प्रधानमन्त्रीले आफूलाई कसरी सच्याउने भन्ने उपाय पनि त होला नि?
प्रधानमन्त्रीमाथि नैतिक प्रश्न खडा भयो भनेर मैले भनेको छु, अरू साथीहरुले पनि भन्नुभएको छ। आइतबार पनि सरकारका तर्फबाट काठमाडौंमा घटनाहरु भइरहेका छन्। त्यसैले हामीले पार्टीको बैठक माग गरेका छौं, यो कुरा हामीले बैठकमै भन्छौं र निर्णय गर्छाैं, त्यहींबाट नयाँ प्रक्रिया सुरु हुन्छ। उहाँले के गर्ने कमिटीले भन्छ।

साढे दुई वर्षको अवधिमा सरकारले सल्लाहबिना काम गरेको यो पहिलोपटक हैन तर पार्टीले नजरअन्दाज गरिरहेको थियो। अहिले पनि त्यही कुरा नदोहोरिएला भन्न त सकिन्न नि?
दर्जनौं निर्णय छन्, जुन प्रधानमन्त्रीले एकलौटी रूपमा अगाडि बढाउनुभयो। सुरुकै निर्णयबाट हामीले यो नगरौं गलत हुन्छ भनिरहेका थियौं। गल्ती भयो, यसलाई सच्याउनुस् भन्दा उहाँले कहिल्यै स्वीकार गर्नुभएन। जब दबाब पर्‍यो, त्यसपछि पछि हट्नुभयो। गिरिजाप्रसाद कोइराला फाउन्डेसनमा बजेट हाल्ने नहाल्ने विषयदेखि सुरु भएका विवाद गुठी, सञ्चार विधेयक हुँदै यहाँसम्म आउँदाका दर्जनौं कुरा छन्। ती कुराहरु उहाँले ल्याउने, बिगार्ने, पार्टीको इमेज ध्वस्त पार्ने अनि त्यसपछि फिर्ता लिने गर्नुभएको छ। हामीले उहाँलाई बदल्न र सच्याउन धेरै कोसिस गरेका हौं तर पार्टीले समयमै दिएको सुझाव उहाँले सुन्नुभएन। उहाँ स्वेच्छाचारी बाटोमा हिँड्नुभएको छ।

प्रतिक्रिया दिनुहोस