ओली–प्रचण्डसँग छलफल गर्न नेकपा सांसदहरु बालुवाटारमा

बुधबार, १० बैशाख २०७७, १३ : २१
ओली–प्रचण्डसँग छलफल गर्न नेकपा सांसदहरु बालुवाटारमा

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र नेकपा पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदका सांसदहरुसँग छलफल थालेका छन् । 

अध्यादेश जारी गरेपछि विवाद भइरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणबारे भइरहेका कामकारवाहीबारे पार्टीका सांसदहरुसँग छलफल गरेका हुन् । छलफल बिहान १० बजेदेखि बालुवाटारमा भइरहेको छ ।

प्रदेशगत रुपमा नेकपा सांसदहरुलाई बालुवाटारमा बोलाएर पछिल्लो अवस्थाबारे सांसदहरुका सुझाव र तल भइरहेका कामहरु बारेमा जानकारी लिने काम भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई छलफलमा राखिएको छ ।

थापाका अनुसार प्रदेश १ पछि प्रदेश ३ का सांसदहरुसँग छलफल गर्ने समय तय गरिएको छ । काठमाडौँमा उपलब्ध भएसम्म सबै प्रदेशका सांसदहरुलाई छलफलमा बोलाइएको छ । छलफल प्रदेशअनुसार पालैपालो भइरहेको छ ।

कोरोेनासंक्रमण र लकडाउनका कारण तत्काल संसदीय दलको बैठक बस्न नसक्ने भएपछि सांसदहरुसँग छलफलको आयोजना गरिएको बताइएको छ ।

सबै सांसदलाई एकैपटक राखेर बैठक गर्दा धेरै ठूलो भिड हुने भएकाले अलग अलग प्रदेशबाट बोलाइएको हो । छलफलमा प्रधामनन्त्री ओली, अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस