राहतमा कुहिएको दाल ? मेयरसहित १० जना पक्राउ

मंगलबार, ०९ बैशाख २०७७, १४ : ०४
राहतमा कुहिएको दाल ? मेयरसहित १० जना पक्राउ

साङ्केतिक फोटो

कलैया । लकडाउनका कारण मर्कामा परेका गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई कुुहिएको दाल राहतका रुपमा वितरण गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १० जनालाई पक्राउ गरेको छ । 

प्रहरीले मेयर यादवलाई मंगलबार बिहान पक्राउ गरेको हो भने यसअघि नै प्रहरीले ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरिसकेको छ । कुहिएको दाल यादवले कलैया नगरपालिका वडा नम्बर  ७ मा रहेको  ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरेको पाइएपछि चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो  । सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो । 

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई  मेयरले  कुहिएको दाल राहत स्वरुप वितरण गरेको उजुरी परेपछि प्रहरीले अनुसंधान थालेको थियो । जसमा उनीपछि दोषी पाइएपछि नियन्त्रणमा लिइएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए 

कलैया मनपा  वडा नम्बर २० बस्तपुरमा बितरण गर्नका लागि राखेको दाल ४ बर्ष पुरानो कुहिएको रहेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वको टोलीले चैत २९ अघिसुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो ।