‘कोरोना भाइरसका कारण सबैभन्दा धेरै व्यक्तिको मृत्यु चीनमा भएको हो’ : अमेरिकी राष्ट्रपति ट्रम्प

आइतबार, ०७ बैशाख २०७७, ०९ : ११
‘कोरोना भाइरसका कारण सबैभन्दा धेरै व्यक्तिको मृत्यु चीनमा भएको हो’ : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । कोरोना भाइरसका कारण सबैभन्दा धेरै व्यक्तिको मृत्यु अमेरिकामा नभई चीनमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको शनिबारको ब्रिफिङ्गको क्रममा अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने दर युरोपमा भन्दा कम रहेको बताए । युरोपको जर्मनी मात्रै अपवाद रहेको उनको भनाई छ ।

चीनमा भन्दा अमेरिकामा धेरै कम मानिसको मृत्यु भएको दाबी ट्रम्पले गरेका हुन् । उनले भनेका छन्, ‘बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम तथा फ्रान्सको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण भएको मृत्युदर कम छ । स्पेनको मृत्युदर तर अमेरिकाको भन्दा चार गुणा बढी छ ।’ ट्रम्पले अघि भनेका छन्, ‘कोभिड–१९ बाट हुने मृत्युमा अमेरिका पहिलो नम्बरमा होइन कि चीन हो । हामी त चीनको नजिक पनि छैनौँ । त्यहाँ धेरै मानिसको ज्यान गएको छ, यो कुरा तपाईँलाई पनि थाहा छ र मलाई पनि ।’

गएको शुक्रबार महामारीको उद्गम थलो चीनको वुहानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सच्याइएको थियो । त्यहाँ यसअघि भनिएको भन्दा थप १२९० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको उल्लेख चीनले गरेको थियो । चीनको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म त्यहाँ कोभिड–१९ बाट ४ हजार ६ सय ३२ जनाको मात्रै निधन भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म ३८ हजार ८ सय ३५ जनाको मृत्यु भइसकेको छ । यस्तै स्पेनमा २० हजार ६ सय ३९, इटालीमा २३ हजार २ सय २७, फ्रान्समा १९ हजार ३ सय ४९, बेलायतमा १५ हजार ४ सय ९८ तथा जर्मनीमा ४ हजार ५ सय ३८ जनाको निधन भएको छ ।