काठमाडौं । नेपालमा दोस्रो कोरोना संक्रमित हुन्, १९ वर्षीया प्रसिद्धि श्रेष्ठ। अस्पताल बसेको २७ दिनमा कोरोनालाई पराजित गरी उनी शनिबार घर फर्किएकी छन्। शनिबार नै बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल पनि निको भएर डिस्चार्ज भइन्। छैटौं संक्रमित यी वृद्धा अस्पताल बसेको १८ दिनमा संक्रमणबाट मुक्त भएकी हुन्।
किशोरी र वृद्धा दुवै जनाले कोरोनासँगको लडाइँ जित्दा उस्तै सन्देश दिए– उच्च आत्मबल। संक्रमणपछि न प्रसिद्धि विचलित भइन् न त मनकुमारीले आफ्नो आत्मबललाई कमजोर हुन दिइन्। दम र रक्तचापको बिरामीसमेत रहेकी मनकुमारीले कोरोनासँग लड्न उच्च मनोबलसहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको अनुभवसमेत सुनाइन्।
लक्षण नदेखिँदै अस्पताल गइन् प्रसिद्धि
प्रसिद्धि श्रेष्ठ लक्षण नदेखिँदै अस्पताल पुगिन्। २७ दिन आइसोलेसनमा बसिन्। शनिबार डिस्चार्ज हुँदा ढाडस दिँदै भनिन्, ‘मास्क, पन्जा लगाउनुहोला। ठाउँ–ठाउँमा टाँसिएको सूचना पढ्नुहोला। सावधानी अपनाउनुहोला। अनावश्यक घुमफिर नगर्नुहोला।’
उनी शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट घर फर्किएकी हुन्। ‘उहाँ (प्रसिद्धि) त्यति धेरै दिन आइसोलेसनमा बस्दा पनि आत्तिनुभएन’, अस्पतालका प्रवक्तासमेत रहेका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले अन्नपूर्णसँग भने, ‘मनोबल उच्च थियो।’
अस्पताल भर्ना भएपछि बिस्तारै लक्षणहरू देखिए। श्वासप्रश्वासमा गाह्रो भयो। पेटमा दुखाइ महसुस भयो। खोकी लाग्न थाल्यो। थकाइ लाग्थ्यो। तापनि उनले हरेस खाइनन्। कोरोनासँग लडिरहिन्। ‘बाहिरी मुलुकबाट आउनुभएको छ भने आफंै आइसोलेसनमा बसिदिनुहोला’, उनले अनुरोध गरिन्, ‘यसले गर्दा समाजमा कोरोना भाइरस फैलिन पाउँदैन।’ संक्रमितलाई नराम्रो ढंगले कलंकका रूपमा (स्टिग्मा) प्रस्तुत नगर्न उनले सञ्चारमाध्यमलाई पनि आग्रह गरिन्।
फ्रान्सको एक विश्वविद्यालयमा अध्ययनरत उनी चैत ४ गते कतारको दोहा हुँदैे काठमाडौं आएकी थिइन्। विदेशबाट आएका कारण उनी घरमा अलग्गै बसिन्। कुनै लक्षण देखिएन। उनी घर आएको चौथो दिन सँगै यात्रा गरेकी भियतनामकी साथीले आफू संक्रमित भएको उल्लेख गर्दै फोन गरिन्। ‘साथीलाई कोरोना भाइरस पोजिटिभ देखिएको रहेछ’, उनले भनिन्, ‘जाँच गरिहालौं भनेर म टेकु आएकी थिएँ।’
उनी ९ गते अस्पतालमा जँचाउन जाँदा मास्क र पन्जा लगाएकी थिइन्। अस्पतालमा उनको घाँटी र नाकभित्रको खकार (स्वाब) परीक्षण गरियो। आइतबार रिपोर्ट आयो। उनी भर्ना भइन्। घर आएको छैटौं दिन १० चैत सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पत्रकार सम्मेलन गरी दोस्रो संक्रमणको पुष्टि गरे। मन्त्री ढकालले नै उनलाई डिस्चार्ज हुँदा आफ्नो अनुभव बाँड्न पनि आग्रह गरेको मन्त्रालय स्रोतले बतायो।
उनीभन्दा अघि चीनमा अध्ययनरत एक युवामा माघ ९ गते कोरोना भाइरस पोजिटिभ भेटिएको थियो। ती युवा पनि डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। सबैको स्वास्थ्य सामान्य छ। घरमा पनि आफैं एकान्तवासमा बसेकाले अभिभावक एवं आफन्त र समाजमा कोरोना फैलिन नपाएको श्रेष्ठले बताइन्। नेपाल टेलिभिजनलाई दिएको पहिलो अन्तर्वार्ता शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत सार्वजनिक गरिँदा उनमा आत्मविश्वास प्रस्ट देखिन्थ्यो।
अस्पतालको दिनचर्या
कोरोना परीक्षणपछि उनी घरमै फर्किन्। जँचाउन दिएको दुई दिनपछि रिपोर्ट पोजिटिभ आयो। चिकित्सकले तत्काल घरमै एम्बुलेन्स पठाए। अस्पतालमा आउँदा उनलाई प्रमुख कन्सल्टेन्ट डा. बाँस्तोलाले स्वागत गर्दै हौसला बढाए। ‘तिमी चिन्ता नलेऊ भनेर डाक्टरहरूले भन्नुभयो। पेसागत मात्र होइन, व्यक्तिगत रूपमा पनि डाक्टर, नर्सले हौसला व्यक्त गर्नुभयो’, उनले भनिन्।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारी र डा. बाँस्तोलाको नामै लिएर उनले धन्यवाद व्यक्त गरिन्। डा. बाँस्तोला उनलाई हौस्याउन शय्या गइरहन्थे। डिस्चार्जका क्रममा शनिबार उनले उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीप्रति कृतज्ञता व्यक्त गरिन्। डा. बाँस्तोलाका अनुसार श्रेष्ठले चिकित्सा विज्ञानमा पनि रुचि राखेर कुराकानी गर्थिन्। सञ्चो भएपछि एन्टिबडी दान गर्नेबारे छलफल गरेकी थिइन्। ‘कोरोना भाइरसबाट कोही पनि गम्भीर बिरामी नहोऊन्’, उनले भनिन्, ‘यदि मैले प्लाज्मा दिनुपर्छ भने सहयोग गर्न तयार छु।’
अस्पताल बसाइका क्रममा मनमा उब्जन सक्ने नकारात्मक कुराहरूको व्यवस्थापन गर्न सकिएको डा. बाँस्तोलाले बताए। दुई पटक गरिएको पीसीआर जाँचमा कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए। ‘गम्भीर खालको संक्रमित भएको अवस्थामा रगतको प्लाज्मा दिन मबाटै सुरु गर्छु भन्नुभएको छ’, उनले भने, ‘त्यो एकदमै सकारात्मक कुरा हो।’
पहिलो संक्रमित युवा र दोस्रो व्यक्तिलाई निको बनाएर डिस्चार्ज गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरे। भने, ‘संक्रमितहरूलाई यसैगरी डिस्चार्ज गर्न पाए गजब हुन्थ्यो।’ अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस