नेपालमा कोरोना संक्रमण दोस्रो चरणमै

पत्रपत्रिकाबाट

आइतबार, ०७ बैशाख २०७७, ०७ : २४
नेपालमा कोरोना संक्रमण दोस्रो चरणमै

काठमाडौँ । कोभिड–१९ बाट ३१ जना संक्रमित भए पनि संक्रमण हालसम्म दोस्रो चरणमै रहेकाले रोकथामका लागि राम्रो अवसर सरकारसँग अझै रहेको विज्ञहरूले बताएका छन् । लकडाउन चौथो सातामा चलिरहँदा संक्रमण स्थानीयस्तरमा एक जनालाई मात्र सरेको र त्यो पनि दुई साता नाघिसकेको हुनाले नियन्त्रणका लागि जटिल अवस्था आइनहालेको उनीहरूको भनाइ छ ।

दुबईबाट फर्किएका कैलालीका एक युवक र यहाँ रहेकी उनकी आफन्तमा कोभिड–१९ को संक्रमण देखिएको थियो । ती आफन्तमा १६ दिनअघि पुष्टि भएपछि संक्रमण दोस्रो चरणमा गएको थियो ।

शुक्रबार उदयपुरको मस्जिदमा रहेका ११ भारतीय र १ नेपाली तथा चितवनमा बेलायतबाट फर्किएका २ जना नेपालीमा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ३१ पुगेको छ । दुई संक्रमित निको भएर घर फर्किसकेका छन् । उदयपुरमा संक्रमित भएका १२ जनाको ‘कन्ट्याक्ट ट्ेरसिङ’ गरिँदै छ । ‘शुक्रबार संक्रमण पुष्टि भएका सबै १४ जना विदेशबाट आएका हुन्,’ स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।