कोरोना भाइरस : निको हुन कति समय लाग्छ ?

शनिबार, ०६ बैशाख २०७७, १८ : ०७
कोरोना भाइरस : निको हुन कति समय लाग्छ ?

- जेम्स ग्यालहर
बीबीसी । कोभिड-१९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो। तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ।

निको हुने समय तपाईँ कति धेरै बिरामी हुनुभएको छ भन्नेमा निर्भर गर्छ।

केही मानिसहरू चाँडै नै निको भइहाल्छन् भने अन्यलाई यसले दीर्घकालीन असर छाड्न सक्छ।

उमेर, लिङ्ग तथा अन्य स्वास्थ्य समस्याजस्ता विषय जोखिम तत्व हुन् जसले कोभिड-१९ बाट को कति गम्भीर बिरामी हुन्छ भन्ने निर्क्योल गर्छ।

सामान्य लक्षणमात्र देखा परेको खण्डमा के हुन्छ?
अधिकांश कोभिड-१९ का बिरामीलाई केवल मुख्य लक्षण देखापर्छन् - खोकी र ज्वरो। उनीहरूलाई जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने हुन सक्छ।

सुरुमा सुक्खा खोकी र पछि खकार सहितको खोकी लाग्न सक्छ।

यी लक्षणलाई आराम, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्ने गरे पुग्छ।

यस्ता सामान्य लक्षण भएका बिरामीहरू छिटो र पूर्ण निको हुनसक्छन्।

ज्वरो एक हप्तामा ठीक हुनसक्छ भने खोकी केही थप समय जारी रहन्छ।

चिनियाँ आँकडाका आधारमा विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ)ले औसतमा दुई सातामा बिरामी निको हुने जनाएको छ।

यदि गम्भीर लक्षण भएमा के हुन्छ?
कतिपयको निम्ति यो रोग निकै गम्भीर बन्न सक्छ। सङ्क्रमण भएको सातदेखि १० दिनमा यस्तो हुन सक्छ।

यो परिवर्तन निकै तीव्र गतिमा हुनसक्छ। सास फेर्न गार्‍हो हुन थाल्छ अनि फोक्सो सुन्निन्छ।

यस्तो किन हुन्छ भने शरीरको प्रतिरोध प्रणालीले भाइरससँग लड्न खोज्दा अत्यधिक प्रतिक्रिया जनाउँछ जसले गर्दा शरीरमा अन्य जटिलता उत्पन्न हुन्छ।

केही मानिसलाई अक्सिजनका लागि अस्पतालमा राख्नुपर्ने हुनसक्छ।

एकजना चिकित्सक सेरा जार्भिस भन्छिन्, "सास फेर्न गार्‍हो हुने अवस्था निको हुन निकै समय लाग्छ किनकी शरीरमा निकै सुजन भएका हुन्छन्।"

यसबाट निको हुन दुईदेखि आठ हप्ता लाग्न सक्छ। लामो समयसम्म जीउमा थकान रहिरहन्छ।

सघन उपचारको खाँचो परेमा चाहिँ के हुन्छ?
डब्लुएचओको अनुमानमा प्रत्येक २० मध्ये एकजनालाई सघन उपचारको खाँचो पर्न सक्छ। त्यसमा भेन्टिलेटरमा राख्नपर्ने बिरामी पनि पर्छन्।

सघन उपचार केन्द्र (आइसीयू) मा राखेपछि निको हुन थप समय लाग्छ। घर पठाउनु अघि सामान्य वार्डमा सारिन्छ।

सघन उपचारमा रहनु परेको बिरामीलाई पूर्णत: तन्दुरुस्त हुन १२ देखि १८ महिना लाग्ने इन्टेन्सिभ केअर मेडिसिन विभागकी डिन डा. एलिसन पिटार्डले बताइन्।

लामो समय अस्पतालमा बस्दा तौल घट्छ। मानिस कमजोर हुन्छ अनि मांसपेशीहरू तन्दुरुस्त हुन समय लाग्छ। कतिलाई हिँडडुल गर्न फिजियोथेरापी आवश्यक पर्न सक्छ।

चीन र इटलीबाट प्राप्त विवरणहरूमा बिरामीहरूलाई कमजोरी अनुभव भएको, थोरै हलचल गर्दापनि स्वाँस्वाँ आउने भएको अनि खोकी लागिरहेको उल्लेख छ। धेरै निद्राको आवश्यकता परेको पनि देखिएको छ।

"हामीलाई थाहा छ बिरामीहरूलाई लामो समय, कतिपयलाई महिनौँ, लाग्न सक्छ," कार्डिफ तथा भेल विश्वविद्यालयको स्वास्थ्य बोर्डका फिजियोथेरापिस्ट पाउल टोजले बताए।

तर यसलाई सामान्यीकरण गर्न कठिन हुन्छ। कुनै मानिस सघन उपचार कक्षमा थोरै समयमात्र रहन्छन् भने कसैलाई हप्तौँसम्म भेन्टिलेटरमा राख्नुपर्छ।