संक्रमितसँगै यात्रा गरेका यात्रु खोज्दै प्रहरी, ९१ जना अझै सम्पर्क बाहिर

पत्रपत्रिकाबाट

शनिबार, ०६ बैशाख २०७७, ०७ : ३६
संक्रमितसँगै यात्रा गरेका यात्रु खोज्दै प्रहरी, ९१ जना अझै सम्पर्क बाहिर

काठमाडौं । हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरू छन् । संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ ।

अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरूले स्वदेश आउँदा अहिलेसम्म चारवटा विमान प्रयोग गरेको देखिएको छ भने स्वदेश आएपछि गन्तव्यमा पुग्न दुई आन्तरिक विमान प्रयोग गरेको पाइएको छ ।

केन्द्रीय प्रहरी डेस्कका अनुसार ४ चैतमा कतार एयरको क्यूआर ६५२ उडानमार्फत १ सय ५८ यात्रु नेपाल आएका थिए । तीमध्ये १ सय ५६ जना प्रहरी सम्पर्कमा आएका छन् भने अझै दुई यात्रु सम्पर्क बाहिर छन् । यस्तै, ६ चैतमा यूएईबाट एयर अरेबियाको जी ९५३७ उडानमार्फत १ सय ६९ जना नेपाल आएकामा १ सय ६७ जना सम्पर्कमा तथा दुई जना सम्पर्क बाहिर रहेको प्रहरी बताउँछ ।
यस्तै, ७ चैतमा भारतीय विमान विस्तारामार्फत १ सय ३० जना यात्रु काठमाडौं उत्रिएकामा १ सय १४ यात्रु सम्पर्कमा रहेको तथा १६ यात्रु अझै सम्पर्कमा नभेटिएको प्रहरीले जनाएको छ ।

यसैगरी, ४ चैतमा नै कतार एयरलाइन्सको क्यूआर ६४४ विमानमार्फत १ सय ५३ यात्रु नेपाल आएकामा ९४ जना मात्रै सम्पर्कमा छन् । बाँकी ५९ जना भने अझै सम्पर्क बाहिर छन् । सोही विमानमार्फत आएका राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा पछिल्लोपटक संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, संक्रमितमध्ये केहीले स्वदेश आएपछि समेत आन्तरिक उडानमार्फत यात्रा गरेको र उनीहरू सवार विमानको पहिचान गरेर प्रहरीले खोजी गरिरहेको छ । जसमध्ये ४ चैतमा काठमाडौं पोखरा उडान भरेको यती एयरको विमानमा ५६ जना यात्रु सवार रहेकामा ५० जना यात्रु प्रहरी सम्पर्कमा आइसकेका छन् । सो विमानमा सवार ६ जना अझै सम्पर्क बाहिरै छन् ।

यसैगरी, ८ चैतमा काठमाडौं–नेपालगन्जको उडान भरेको बुद्ध एयरमा ७१ जना यात्रु रहेकामा ६५ यात्रु सम्पर्कमा रहेको तथा ६ यात्रुको खोजी भइरहेको प्रहरीले बताएको छ । प्रहरीको केन्द्रीय डेस्कका अनुसार हालसम्म संक्रमित भएकाहरूले चार अन्तर्राष्ट्रिय र दुई आन्तरिक विमान प्रयोग गरिएको देखिएको हो । जसमा कुल ७ सय ३७ यात्रु सवार रहेकामा ६ सय ४६ जनालाई प्रहरीले सम्पर्कमा ल्याइसकेको दाबी गरेको छ ।राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस