नेपालमा कोरोना संक्रमण भुसको आगो सरह फैलिएको विज्ञको आशंका

पत्रपत्रिकाबाट

शनिबार, ०६ बैशाख २०७७, ०६ : ४९
नेपालमा कोरोना संक्रमण भुसको आगो सरह फैलिएको विज्ञको आशंका

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन्।

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार थप १४ जनामा संक्रमण देखिएको छ। उदयपुर जिल्लामा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। उदरपुरमा देखिएका सबै पुरुष छन्। मन्त्रालयका अनुसार, उदयपुरमा २० देखि ४० वर्षका पुरुषमा संक्रमण देखिएको छ। व्यक्तिगत गोपनियताका कारण मन्त्रालयले उमेर मात्र खुलाएको छ। संक्रमितमध्ये एक जना बीस र अर्का बाइस र पच्चीस वर्षका छन्। त्यस्तै अर्का छब्बिस र अटठाइस वर्षका ३ जना छन्। २९ वर्षका दुई जना र ३४ वर्षका एक जना छन्। ४० वर्षका पनि एक जना रहेका छन्।

त्रियुगा नगरपालिका–३ भुल्के मस्जिदमा लुकेर बसेका १६ मध्ये १२ जनालाई कोरोना पोजेटिभ देखिएको हो। विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा १२ भारतीयलाई कोरोना पोजेटिभ देखिएको हो। बाँकी चार जना नेपालीको रिर्पोट भने नेगेटिभ देखिएको छ।

कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले पुष्टि गरे।

उनीहरुको रिपोर्टको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालेसमेत पुष्टि गरेको उनले बताए। स्थानीय प्रशासनले उदयपुरका तीन मस्जिदमा अनुगमन गर्दा भुल्केमा १६ जना लुकेर बसेको फेला पारेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए।

मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेका प्रजिअ पहाडीले बताए। लकडाउनको समयमा मस्जिदमा विदेशी आएर बसेको भन्दै स्थानीयले प्रशासनलाई खबर गरेका थिए।

सरकारले गत चैत ९ गते भारत–चीनसँग जोडिएका सबै सीमानाका बन्द गरे पनि भारतका अधिकांश नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका संक्रमितको विस्तृत विवरण आफूलाई थाहा नभएको बताए।

मस्जिदमा रहेका ती व्यक्तिहरू लुकेर बसेको अवस्थामा परीक्षण गरिएको थियो। मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वास्थ्यकर्मीको टोलीले नाक एवं घाँटीको स्वाब संकलन गरेको थियो। त्यस्तै चितवनमा संक्रमितमध्ये एकजना पुरुष र अर्को महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले अन्नपूर्णलाई बताए। उनीहरूको उमेर २७ र ६३ छ।

जोखिम बढयो : विज्ञ
सरकारले आवतजावत बन्दको घोषणा गरे पनि खुला सीमाका कारण जोखिम बढेको विज्ञको भनाइ छ। नाकाको आवागमन जोखिमपूर्ण भएको उल्लेख गर्दै विज्ञले पछिल्लो संक्रमणले तेस्रो चरणमा प्रवेश गरेको संकेत भएको बताएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस