डब्लुएचओलाई युरोपेली कुटनीतिज्ञको बलियो समर्थन

एजेन्सी

शुक्रबार, ०५ बैशाख २०७७, २१ : ४०
डब्लुएचओलाई युरोपेली कुटनीतिज्ञको बलियो समर्थन

काठमाडौँ । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताउनुभएको छ ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लुएचओलाई समर्थन रहेको जानकारी दिनुभएको हो ।  

संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईमा डब्लुएचओलाई यो वेला साथ दिनुपर्ने आवश्यकतामा युरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् ।  विदेश मामिला र सुरक्षा नीतिसम्वन्धी अधिकारीहरुले बहुपक्षीय प्रणालीमार्फत् सवैसँग  सहकार्य गर्नुपर्ने समय रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार डब्लुएचओलाई दिँदै आएको सहयोगमा आधा कटौटी गर्ने घोषणा गर्नुभएको थियो । उहाँले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतीको घोषणा गर्नुभएको थियो ।

त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेयेसले महामारीका बेला राजनीति नगर्न आग्रह सहितको प्रक्रिया दिनुभएको थियो । रकम कटौती गर्ने उहाँको घोषणाप्रति अन्य विभिन्न देशका प्रतिनिधिहरूले पनि चर्को असन्तुष्टि जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस