कोरोनाको संक्रमणबाट गर्भवती नर्सको मृत्यु, शल्यक्रिया गरि बच्चा जीवितै निकालियो

विहीबार, ०४ बैशाख २०७७, १० : ५७
कोरोनाको संक्रमणबाट गर्भवती नर्सको मृत्यु, शल्यक्रिया गरि बच्चा जीवितै निकालियो

एजेन्सी । विश्वव्यापी रुपमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मानव जातिको अस्तित्व माथि नै संकट आइपरेको हो कि भन्ने विश्लेषण हुन थालिएको छ । कोरोनाकै कारण अनेक त्रास, आतंक सिर्जना पनि हुन थालिएको छ । यसैबिच कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ । तर चिकित्सकहरुले उनको पेटमा रहेको बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन् ।

लुटन एन्ड डलस्टेबल युनिभर्सिटी अस्पतालमा २८ वर्षकी नर्स मेरी अगियइवा अग्यापोङ्गको कोरोनाको संक्रमणबाट आइतबार निधन भएको हो । उनी सो अस्पतालमा पाँच वर्षदेखि कार्यरत रहेकी थिइन् । अस्पतालले दिएको जानकारी अनुसार उनले जन्म दिएको बच्चा सकुशल रहेको जनाएको छ ।  उनलाई ७ अप्रिलमा उपचारका लागि भर्ना गरिएको थियो ।

गत शुक्रबारमात्र उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । मृतक नर्स मेरीका श्रीमान समेत कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा रहेका छन् । नवजात शिशुको नाम पनि उनकै आमाको नाम राखिएको छ ।

मेरीकी छोरी मेरीको अवस्था राम्रो रहेको अस्पतालले उल्लेख गरेको छ । नवजात शिशुको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । तर शिशुमा कोरोना भाइरसको संक्रमण भए–नभएको केही खुलाएको छैन । मेरीले १२ मार्चसम्म काम गरेर सुत्केरी हुनका लागि बिदा लिएकी थिइन् । तर बच्चा नजन्माउँदै उनको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस