कविता : कोरोना क्वारेन्टाइनबाट

बुधबार, ०३ बैशाख २०७७, १३ : ३४
कविता : कोरोना क्वारेन्टाइनबाट

साङ्केतिक फोटो

- राजा पुनियानी

एक दिन
सयौँ जानवरको मासु बेचिने 
व्यस्त वुहान शहरले 
एउटा भाइरस ब्यायो
नोभेल कोरोना भाइरस
अब निस्कने भयो 
विश्व विजयमा 
नाघेर चीनको अग्लो पर्खाल 
अलेक्जान्डरको तलवारले हेरेको हेरेकै भयो
हिटलरको पिस्तोलले खोकेको खोकेकै भयो
मुसोलिनीको राइफलले सास फेर्नै सकेन 
कोरोना
सुटुक्क
पस्यो भारत
एक दिन
भिसा बिनै
मेसेज बिनै
अनि त
भारतले कोरोनासँग युद्ध लड़्न
मैदान बनायो 
घरलाई
भारतले
खिड़कीबाट भन्दैछ,
वि श्याल ओभरकम

कोरोनाले जसलाई फँसाउँछ
त्यसको मायाजालमा
पहिले म्वाइँ माग्छ
त्यसपछि गला माग्छ

अन्तमा फोक्सोमा पुगेर 
कोरोना क्याब्रे नाच्छ
अर्थात् 
कोरोनाको प्रेमले 
जिन्दगीकै स्याक्रिफाइस माग्छ 

सड़कमा गुटुटु हिँड़िरहेका 
कोरोना डेटिङमा गइरहेका
ए 
लकडाउन देशको 
लड़खड़ाइरहेका कोरोनाप्रेमीहरू
तिम्रो पाइलाले 
मृत्यु टेक्दैछ
फर्क
र 
केही दिन 
घरको डिप लभमा पर
कोरोना
प्रेमी होइन
उ ज्यानै लिने फ्लर्ट हो
यतिबेला घरभन्दा ठूलो प्रेमी
को हुन सक्ला र ? 

प्रतिक्रिया दिनुहोस