विचार

कोरोना भाइरस र मानवबीचको लडाइँमा नेपाल

वीरेन्द्रमणि पौडेल

मंगलबार, ०२ बैशाख २०७७, १४ : ४९
कोरोना भाइरस र मानवबीचको लडाइँमा नेपाल

File Photo

– वीरेन्द्रमणि पौडेल

नेपाल र नेपाली जनताका लागि यो समय नयाँ बर्ष २०७७ साल बैशाख महिनाको पहिलो हप्ता हो । स्वदेशमा बस्ने र नेपालमा बस्ने नेपालीहरुका लागि मात्रै नयाँ बर्ष हो यो । अरु मानव दुनियाँको आफ्नै भाषा र अंकमा नयाँ बर्ष भनिन्छ र बार गते पनि आफ्नै तरिकाले बन्ने बनाउने गरिएको छ । 

विश्व मानवका बीच भाषा र अंक फरक छ तर संसारका सबै मान्छेको जन्म र बाँच्ने प्रक्रियाका साथ शरीरको बनौट पनि एकनासको हुने हुँदा खुशी मनाउने र दुःखी हुने चरित्र समेत उस्तैउस्तै भएको महसुस गर्न सकिन्छ । यही कारण विश्व मानव कहिले संयुक्त रुपमा दुःखी भयो कहिले एकसमानले खुशी । एकताका औलो रोगले संसारका धेरै मान्छेलाई जबर्जस्ती मृत्युको मुखमा हुलिदियो । औलोका कारण संसारका मान्छे सबै दुःखी भएकै अवस्थामा जब रोगको ओखती पत्ता लाग्यो संसारका सबै मान्छे एकैपटक खुशी भएर ताली पिटे । 

पछि क्षयरोग उत्पत्ति भएर मान्छेको दुनियाँलाई दिनसम्म दुःख दियो । ओखती पत्ता लागेपछि मान्छेको संसार खुशी भयो । थुप्रै रोग उत्पत्ति भए । रोग उत्पत्ति हुँदा विश्व मानव दुःखी भयो ओखती भेट्दा संगसँगै खुशी भयो । अहिले पनि संसारमा नयाँ नयाँ रोगहरु उत्पत्ति हुने क्रम जारी छ । ओखती खोज्ने काम पनि हुँदै आएको छ । यसरी रोगले मान्छेलाई आक्रमण गर्ने र मान्छे ओखतीरुपी हतियारको खोजी गर्दै बाँच्ने प्रक्रिया निकै लामो समयदेखि हुँदै आएको छ । 

एकपटक यतिबेला फेरि नोबल कोरोना नामको भाइरस मानव संसारको माझमा आएको छ । यसले झण्डै तीन महिनाको हाराहारीमा पुगनपुग २० लाख मान्छेको शरीरमा प्रवेश गरेको छ । एक लाखभन्दा धेरैको ज्यान लिइसकेको छ । कोरोना भाइरस मानव शरीरमा प्रवेश गरेपछि यो भाइरसका कारण टाउको दुख्ने, घाँटी दुख्ने, उच्चज्वरो आउने र निमोनिया हुने, यस्ता कारणबाट मान्छेको मृत्यु हुने बताइएको छ । बच्ने उपायको रुपमा एक व्यक्तिसँग अर्को व्यक्ति कम्तीमा दुई मिटरको दुरीमा बस्ने, रुघा, खोकी र उच्चज्वरो आएका व्यक्तिलाई अस्पताल पठाउने वा जाने, साबुन पानीले नियमित हात धुने र स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने बताइएको छ । 

विश्व स्वास्थ्य संगठनले विश्व मानवलाई कोरोनाबाट बच्न यस्ता उपाय बताएको छभने संसारका प्रायः सबै देशहरुले आफ्ना जनतालाई घरबाट कतै नजान उर्दी जारी गरेका छन् । जबसम्म कोरोना भाइरसको प्रभावबाट मुक्तिमिल्दैन तबसम्म अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किन आदेश जारी गरेका छन् । यतिबेला पूरै विश्व जहाँको त्यहीँ अडिएको छ । एकइन्च पनि अघि बढेको छैन । अपवादलाई छाडेर संसारका सबै हवाइसेवा बन्द भएको छ । रेल, बस र अन्य सवारी साधनहरु पूरै थन्किएका छन् । सबै पेशा ब्यवसाय ठप्प छन् । 

संसारका सबै मानवलाई कोरोना भाइरसको प्रभावबाट मुक्त गर्न सेना, सञ्चारकर्मी, प्रहरी र स्वास्थ्यकर्मीहरु मानवसेवामा सक्रिय छन् । यस्तो कठिन परिस्थितिको सामना हरेक देशले आफ्नो क्षमता र तरिकाले आफ्ना देशका जनता बचाउन प्रयास गरिरहेको अवस्थामा नेपालले पनि आफ्नो सबैखाले क्षमता प्रदर्शन गरेको देखिएको छ । 

नेपाल सरकारले अरु सामान्य स्वास्थ्यसेवालाई रोकेर सबै जनशक्ति कोरोना नियन्त्रणमा खटाएको छ । एकठाउँबाट अर्को ठाउँमा नजान र मानिस भेला हुन प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमण भएको हो होइन परीक्षणको लागि ठाउँठाउँमा विशेष स्थानहरु निर्माण गरेको छ । यी सबका बावजुद प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको हौसलामा देशवासीलाई ताली बजाएर सम्मान गर्न अनुरोध गर्नुभएको छ । यो कामलाई पनि एककोणबाट सकारात्मक मान्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले नेपालजस्तो गरीब र साधनश्रोतको कमी भएको देशमा कोरोना भाइरसको प्रभाव बढ्नु ज्यादा खतरा हुने भनेको अवस्थामा यतिबेलासम्म १६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भने मृत्युको हकमा कोरोनाको कारण आजसम्म कसैको पनि मृत्यु भएको प्रमाणित भएको छैन । 

नेपालले यतिबेला आफ्नो देशका जनतालाई जोगाउन भरमग्दुर प्रयास गरेको देखिएको छ । यसलाई सकारात्मक भन्नुपर्छ र सरकारलाई स्यावासी समेत दिनुपर्छ तर ख्याल राख्नुपर्ने विषय के हो भने यसअघि नेपालले राष्ट्र सञ्चालन प्रक्रियामा गम्भीर त्रुटीहरु गरेको छ । ती त्रुटीहरु नसच्याएसम्म कोरोना भाइरसको प्रभावबाट मुक्त हुँदासमेत हजारौं समस्याको जालोमा नेपाली जनता परिरहने अवस्था सिर्जना हुने छेकछन्द देखिएको छ । सबैभन्दा पहिलो र डरलाग्दो त्रुटी हो जनता निर्यात गर्ने प्रक्रिया अर्थात् जनतालाई अन्य मुलुकमा भाडामा दिने र त्यसबाट प्राप्त रेमिट्यान्सबाट देश हाँक्ने योजना । यो देशले निकै लामो समयअघिदेखि विश्वका विकसित र अर्धविकसित देशमा आफ्ना जनतालाई भाडामा लगाउँदै आयो । अन्य देशले सामान उत्पादन गर्दै नेपाललाई दिँदै आए, नेपालले मानव उत्पादन गर्दै संसारका देशहरुमा निर्यात गर्दै आयो । नेपालले कहिल्यै यो सोचेन कि कुनै दिन यस्तो आउन सक्छ जतिबेला नेपाली नागरिकहरुलाई उनीहरु रोजगारी दिन नसक्ने अवस्थामा पुग्छन् । विदेशीले नेपालीलाई रोजगारी दिन नसकेको अवस्थामा त्यो प्रक्रियाद्वारा प्राप्त भइरहेको रेमिट्यान्सको अन्त्य हुन जान्छ र आर्थिक अवस्था डाँबाडोल हुन सक्छ भन्ने सोच नेपालले कहिल्यै राखेन । 

सक्षम कहलिएका देशहरुमा भूइँचालो जान सक्छ, कुनै कारणले देश गृहयुद्धमा फस्न सक्छ, राजनीतिक द्वन्द्व बढेर देश नियन्त्रण बाहिर जान सक्छ वा कुनै पनि कारणले सक्षम सावित देश कुनै पनि बेला ध्वस्त हुनसक्छ त्यतिबेला रोजगारीका लागि गएका नेपाली नागरिकहरुको हालत के हुन्छ ? झण्डै चार महिनाअघि मात्रै इरानका एक मेजर जनरल कासिम सुलेमानीको इराकको राजधानी बगदादमा प्लेनबाट ओर्लिएर गाडीतिर बढ्दै गर्दा अमेरिकाले ड्रोन आक्रमण मार्फत् हत्या गरिदियो । सुलेमानी हत्याका कारण इरानी सर्वोच्च नेता आयोतोला रोहेल्ला खुमेनीले अमेरिकासँग बदला लिने घोषणा गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुमेनीले मुख नसम्हाले ठीक पार्ने चेतावनी दिए । दुनियाँले अनुमान गरे अब कुनै पनि बेला अमेरिकाले इरानमाथि हमला गर्छ । अनुमान मिलेन । अमेरिकाले इरानमाथि आक्रमण गरेन । तर यदि आक्रमण गरेको भए त्यसको असर नेपाल र नेपालीमाथि कस्तो पथ्र्यो त्यो कसैले हिसाब गरेन । कुबेतबाट यता इराक, इरान, टर्की, सिरिया, जोर्डन, साउदी अरेबीया, दुबइ, कतार, मलेशिया लगायत मध्यपूर्वका देशहरुमा झण्डै १२ लाख नेपालीहरु काम गरिरहेका छन् । यदि आक्रमण भएको भए एक विकल्प १२ लाख नेपालीलाई नेपाल ल्याउनु पथ्र्यो, त्यो सामथ्र्य नेपालसँग छैन । अर्को विकल्प १२ लाख नेपाली जनतालाई युद्धभूमिमा अलपत्र छाडेर टोलाएर बस्नु पर्ने दुःखद र दयनीय अवस्थाको सामना गर्नुपथ्र्यो । यी दुवै विकल्पमाथि आँखा चिम्लिएको अवस्थामा एकातिर हाम्रा ती सबै जनताको जीवन धरापमा पर्ने त थियो नै, तिनकै भरमा आउने गरेको अरबौं रुपैयाँ समेत क्षति हुन्थ्यो । धन र जनको एकैपटक क्षति हुन्थ्यो । दैवले जोगाए भन्नुपर्छ, त्यो दशाले नेपाललाई त्यतिबेला छोएन ।

अब अहिले ज्यानमारा कोरोना भाइरसले विश्वलाई घप्लक्कै गाँजेको छ । नेपाललाई रेमिट्यान्स मार्फत् पाल्ने नेपालीहरु भारतमा बाहेक विश्वमा ४२ लाख छन् भनिएको छ । युरोपका देशहरु इटली, फ्रान्स, स्पेन, बेल्जियम मात्रै होइन, बेलायत जस्तो शक्तिशाली र सम्पन्न देश समेत कोरोनाको अगाडि रोइरहेका छन् । त्यहाँ काम गरिरहेका नेपालीहरुको हातल के होला सहजै अनुमान गर्न सकिन्छ । रेमिट्यान्सको त कुरै गर्न सान्दर्भिक हुन्न । युरोपमा यतिबेला नेपालीहरुको समेत ज्यान जोखिममा छ । हरेककोणबाट सक्षम र शक्तिशाली अमेरिका समेत कोरोनासँग भएभरको सबै बुद्धि, बल र धन लगाएर लडिरहेको छ र पनि यतिबेलासम्म कोरोनानै हावी भएको छ । लाखौ अमेरिकी जनता कोरोना संक्रमित छन् र हजारौंको ज्यान गइसकेको छ । अनुमान गर्नेहरुले संक्रमित हुने  र मर्नेको संख्या अरु बढ्न सक्ने बताएका छन् । यतिबेला अमेरिकामा बस्ने झण्डै पाँचलाख नेपालीको ज्यान खतरामा परेको छ । 

चीनको हुवेइ प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट विश्वनै संक्रमित हुँदा नेपालीको रेमिट्यान्स सपना अनिश्चित कालका लागि समाप्त भएको छ । देशको मुख्य आम्दानी रेमिट्यान्स, पर्यटन र आन्तरिक कर, राजश्य भएकोमा रेमिट्यान्स बन्द, संसारका सबै पर्यटक आ–आफ्नो घर फर्किएपछि पर्यटन व्यवसाय बन्द र देशभित्र जनताले कर तिर्न नसक्ने अवस्था भएपछि देशको आर्थिक अवस्था दयनीय हुने त अब पक्का जस्तै भएको छ यो भन्दा माथिल्लो विषय यतिबेला जनताको ज्यान कसरी बचाउने भन्ने पिरलोमा ओली सरकार देखिएको छ । यो सरकारको बाध्यात्मक अवस्था पनि हो । 

भारतमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ । भारत र नेपाल बीच सजिलैसँग बन्द गर्न नमिल्ने खालको खुला सीमाना छ । भारतमा कोरोना प्रभाव बढ्नु नेपालको लागि संक्रमणका हिसाबले अझै डरलाग्दो हुने पक्का छ । अब यतिनै बेला भारतका प्रधानमन्त्री दामोदरदास मोदी र नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीबीच आ–आफ्ना देशका जनता बचाउने सवालमा नियमित कुराकानी र सहकार्यको आवश्यक्ता महसुस गरिएको छ । यतिबेला भारतले नेपाललाई र नेपालले भारतलाई सबैखाले मद्दत गर्नुपर्ने अवस्था आइपरेको छ । अहिले भारत र नेपालले कोरोना नियन्त्रणको लागि जेजस्ता उपायहरु अपनाएका छन् त्यो उत्तम ओखतीको रुपमा देखिएका छन् । सवारी साधन आतेजाते र मान्छेको भिडभाड रोक्न चालिएको कदमलाई आवश्यक्ता परे केहीदिन मात्रै होइन, केही महिना लम्ब्याउन समेत उपयुक्त हुने देखिन्छ । यसका लागि नेपाल र भारतले “औंला जोगाउने की पूरा शरीर ?” भन्ने अवस्थामा औंला काटेर भएपनि ज्यान जोगाउनेतिरै लाग्न वेश हुन्छ । बाँकी जे पर्छ टर्दै जान्छ ।