आफ्नो देश फर्कन चाहने नागरिकलाई नलगे श्रम सम्झौता रद्ध गर्ने युएईको चेतावनी

सोमबार, ०१ बैशाख २०७७, ११ : ४६
आफ्नो देश फर्कन चाहने नागरिकलाई नलगे श्रम सम्झौता रद्ध गर्ने युएईको चेतावनी

एजेन्सी । विश्वभरि कोरोनाभाइरस महामारीको रुपमा फैलिरहेको बेला  संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देश फर्कन चाहने नगरिकलाई नलैजाने देशहरुसँगको सम्बन्धमा पुनर्विचार गर्ने चेतावनी दिएको छ ।

स्वेदश फर्कन चाहने आफ्ना नागरिकलाई लैजान अनिच्छा व्यक्त गर्ने देशसँगको सम्बन्ध श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्न सक्ने चेतावनी दिएको समाचार खलीज टाइम्समा प्रकाशन भएको छ । यस्ता देशहरुसँग श्रमिकको संख्या कटौती गर्ने देखि लिएर श्रम सम्झौता नै रद्द गर्नेसम्मको पुनर्विचार हुन सक्ने समाचारमा जनाइएको छ ।

यूएईमा कोरोनाभाइस फैलिएसँगै त्यहाँ बस्ने प्रवासी कामदारहरुले आफूहरुलाई घर फर्काउन आफ्नो देशको सरकारसँग आग्रह गरिरहेका छन् । यसरी आग्रह गर्नेहरुमा नेपालीहरु पनि छन् । युएईमा २ लाख ५० हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ ।

यूएईको मानव संशाधन र एमिरेटिसेसन मन्त्रालयले यूएईको निजी क्षेत्रमा काम गर्ने नागरिकलाई आफ्नो देश फर्काउन अस्वीकार गर्ने देशहरूसँगको सम्बन्धमा पुनर्विचार गर्ने जनाएको समाचारमा उल्लेख गरिएको छ ।

मन्त्रालेले ती देशहरुसँगको आफ्नो सम्बन्ध, श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्ने जनाइएको छ । युएईमा कोरोना भाइरसका ४ हजार १ सय २३ जना संक्रमित फेला परेका छन् भने संक्रमणबाट ६ सय ८० जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस