कोरोना भाइरस

अमेरिकी विशेषज्ञहरुको चेतावनी : कोरोनो परीक्षणमा नेगेटिभ नतिजा आएकाहरुले पनि भाइरस बोकिरहेका हुन सक्छन्

आइतबार, ३० चैत्र २०७६, १६ : ०३
अमेरिकी विशेषज्ञहरुको चेतावनी : कोरोनो परीक्षणमा नेगेटिभ नतिजा आएकाहरुले पनि भाइरस बोकिरहेका हुन सक्छन्

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को परीक्षणमा नेगेटिभ नतिजा आएकाहरुले पनि भाइरस बोकिरहेका हुन सक्ने भन्दै अमेरिकी विशेषज्ञहरुले गम्भीर चेतावनी दिएका छन् ।

संक्रामक रोगसम्बन्धी अमेरिकी विशेषज्ञहरुले भनेका छन्,  ‘कोरोनोको परीक्षणमा नेगेटिभ नतिजा आयो भन्दैमा ढुक्क भइहाल्न सकिन्न । नेगेटिभ नतिजा आएकाहरुले पनि भाइरस बोकिरहेका हुन सक्छन् । अहिले उपलब्ध सबै परीक्षणहरु शतप्रतिशत भरपर्दा छैनन् ।’

संसारभरिकै अधिकांशमुलुकहरुमा यतिखेर कोभिड–१९ को परीक्षण युद्ध स्तरमा भइरहेका छन् । यो स्थितिमा कोरोनाको परीक्षण शतप्रतिशत भरपर्दो नरहेको र नेगेटिभ नतिजा आएकाहरुले पनि भाइरस बोकिरहेका हुन सक्छन् भन्ने वैज्ञानिकहरुको चेतावनी साँच्चै नै डरलाग्दो र खतरनाक छ ।

त्यो त्यस्तो चेतावनी हो, जसले संसारभरि नै विध्वंशक परिणाम ल्याउन सक्छ । विशेष गरेर अहिले देखापर्न थालेको विश्वव्यापी आर्थिक मन्दी र भाइरसको संक्रमण रोक्न करोडौं मानिसहरु घरमै बन्द रहेको अवस्थाबीच कहिले अर्थतन्त्रको ढोका फेरि खुल्न सक्छ भन्ने सोचमा रहेका विश्वका विभिन्न मुलुकहरुका लागि यो निक्कै डरलाग्दो स्थिति हुन सक्छ ।

अहिले विश्वव्यापी रुपमै प्रयोग भइरहेका कोरोनाभाइरसको मुख्य परीक्षण विधिले पीसीआर नामक प्रविधिको उपयोग गर्छ जसले संक्रमणको आशंका गरिएको व्यक्तिको नाक वा घाटीबाट संकलन गरिएको ‘म्युकस’ को नमूनामा कोरोनाभाइरसको उपस्थिति पत्ता लगाइन्छ ।

तर ‘त्यस्तो परीक्षणले वास्तवमा भाइरस छ वा छैन भन्ने पत्ता लगाउन धेरै कुराहरुले प्रभावित गर्न सक्छ’, अमेरिकाको मिन्नेसोटास्थिति मायो क्लिनिकका संक्रामक रोग विशेषज्ञ प्रिया सम्पतकुमार भन्छिन् ।

‘संक्रमणका आंशंका गरिएका व्यक्तिले कति परिणाममा भाइरस निस्काशित गरिरहेको छ (हाँच्छिउँ, खोकी वा अन्य शारीरिक गतिविधिहरुबाट) भन्ने कुरामा पनि यो निर्भर गर्छ । साथै, त्यो नमूनाको संकलन ठीकसँग गरिएको छ कि छैन र त्यसलाई ल्याबसम्म कति समयमा लगियो भन्ने कुरामा पनि यो निर्भर गर्छ,’ उनी भन्छिन् ।

परीक्षणको विश्वसनीयता

यो नयाँ कोरोनाभाइरसको संक्रमण मानिसहरुमा फैलिन शुरु गरेको चार महिना मात्रै भएको छ । यसको परीक्षणको विश्वसनीयताबारेमा अध्ययनहरु अहिले प्रारम्भिक अवस्थामा मात्रै छन् ।

चीनबाट प्राप्त प्रारम्भिक रिपोर्टहरुमा यसको संवेदनशीलता अर्थात् भाइरस उपस्थित भएको अवस्थामा नतिजा पोजेटिभ आउने सम्भावना ६० देखि ७० प्रतिशत मात्रै रहेको देखिएको थियो ।

संसारभरिका विभिन्न कम्पनीहरुले अलि फरक खालका परीक्षणहरु उत्पादन गरिरहेका छन् र त्यसले समग्रमा त्यो नतिजा कति सही आइरहेको छ भन्न गाह्रो छ ।

तर त्यो नतिजाको संवेदनशीलतालाई ९० प्रतिशत नै बढाउन सकियो भने पनि, परीक्षण गरिने मानिसहरुको संख्या बढ्दै जाँदा त्यो जोखिमको सम्भावना उत्तिकै कायमै रहने कुरा सम्पतकुरमाले मायो क्लिनिकद्वारा प्रकाशित एउटा पेपरमा उल्लेख गरेकी छिन् ।

‘एकअनुमान अनुसार क्यालिफोर्नियामा मे महिनाको मध्यसम्ममा कोभिड–१९ को संक्रमण ५० प्रतिशतले बढ्न सक्छ,’ उनले भनेकी छिन्, ‘४ करोड मानिसहरुमध्येमा, एक प्रतिशत मानिसहरुको मात्रै परीक्षण गरियो भने भने पनि २० हजार फल्स नेगेटिभ नतिजा आउने कुरा अनुमान गर्न सकिन्छ ।’

यही कारणले गर्दा स्वास्थ्यविदहरुलाई एउटा परीक्षणको मात्रै भरमा कोरोनाको पहिचान गरिहाल्न गाह्रो छ, उनीहरुले परीक्षणको नतिजामा मात्रै भरपर्नुभन्दा रोगीका लक्षण, उनीहरुको सम्भाव्य एक्सपोजर इतिहास, एक्सरे तथा अन्य ल्याब परीक्षणहरु पनि जाँच्नै पर्छ ।

सबै कुरा समयको जिम्मामा

यो भाइरसको पहिचान गर्नको लागि एउटा समस्या चाहिँ शरीरमा यो भाइरस सबैभन्दा बढी जम्मा भएर बस्ने ठाउँ परिवर्तन भइरहनु पनि हो ।

नाकबाट ‘स्वाव’ संकलन गरिँदा घाँटीको छेउमा भेट्ने नाकको पछिल्लो हिस्सा लबकयउजबचथलह० बाट लिनुपर्ने हुन्छ । यसका लागि दक्षताको खाँचो पर्छ र त्यो सही ढंगले संकलन गरिएन भने फल्स नेगेटिभ नतिजा आउने सम्भावना पनि बढेर जान्छ ।

त्यो नमूनाको संकलन सही ढंगले नै गरिएको छ भने पनि, त्यो नमूनाले नै पनि नेगेटिभ देखाउन सक्छ । यो किन हुन्छ भने कोभिड रोग विकसित हुँदै जाँदा भाइरस नाक–घाँटीको त्यो हिस्साबाट सरेर तल्लो श्वासप्रश्वास प्रणालीतिर गइसकेको पनि हुन सक्छ ।

यो स्थितिमा रोगीलाई खोकेर खकार निकाल्ने कोशिश गर्न लगाउनुपर्नेहुन सक्छ । यसो गर्दा तल्लो फोक्सोबाट म्युकस संकलन गर्न सकिने हुन्छ । अझ विरामी अर्धवेहोशी वा कफ निकाल्न नसक्ने अवस्थामा पुगिसकेको छ भने त चिकित्सक आफैंले अन्य उपायले त्यो नमूना लिनुपर्ने पनि हुन सक्छ । 

एएफपीसँग कुरा गर्दै अमेरिकाको बाल्टिमोरस्थित जोन हपकिन्स अस्पताका आकस्मिक चिकित्सक डानियल ब्रेननेरले ब्रोन्कोभियोलर ९दचयलअजयबखिभयबिच०,  विधिको व्याख्या गरेका छन्, जुन फोक्सोबाट तरल पदार्थहरु संकलन गर्ने एउटा न्यूनतम विधि हो । यो विधिबाट झिकिएका तरल पदार्थबाट पनि कोभिड–१९ को परिक्षण गर्न सकिन्छ ।

नाक–घाँटीबाट निकालिएको स्वावमा तीनपटक सम्म नेगेटिभ नतिजा आएका एक विरामीमा यो विधिबाट तरल पदार्थ झिेकेर कोभिड–१९ को परीक्षण गरिएको थियो ।

त्यो विरामीलाई उपचार गरिरहेका स्वास्थ्यकर्मीहरुको टीमले उसको श्वासनलीबाट एउटा क्यामेरा छिराएर फोक्सोको परीक्षण गर्नुका साथै त्यहाँबाट तरल पदार्थ झिकेर परीक्षण गरेका थिए, जुन कोभिड–१९ पोजेटिभ आएको थियो । 

चिकित्सीय परीक्षणहरुमा रोगको पहिचानमा अनिश्चितताका कुनै नयाँ कुरा होइन र चिकित्सकहरु कुनै पनि परीक्षण शतप्रतिशत सफल र सही नहुने कुरामा जानकार नै छन् । तर ‘कोभिड–१९ को हकमा फरक पार्ने कुरा नै यो नितान्त नयाँ रोग हुनु हो,’ सम्पतकुमार भन्छिन् ।

‘धेरै जसो समयमा जब हामी परीक्षण गर्छौं, हामीसँग त्यो परीक्षणका विशेषताहरुका बारेमा सतर्कतापूर्वक जानकारीहरु राखिएका हुन्छन् र त्यसको व्याख्या गर्नेबारेमा ख्याल गर्नुपर्ने चेतावनीहरुका बारेमा पनि जानकार हुन्छौं,’ उनी थप भन्छिन्, ‘तर हामीले लामो समयसम्म परीक्षण नगरिरहेको अवस्थामा जब परीक्षण गर्नुपर्ने हुन्छ, हामी त्यसलाई व्यापक रुपमा गर्न थाल्छौं र त्यसका न्यूनतम कुराहरु चाहिँ भुल्छौं ।’

व्यापक जनसंख्यामा परीक्षण गरिने काम ढिलो भएपछि अमेरिकाले टेस्ट किटको उत्पादन बढाएर २५ लाख मानिसहरुमा परीक्षण गरिसकेको छ ।

तर ‘मुख्य डर चाहिँ टेस्ट नतिजा फल्स नेगेटिभ आएका मानिसहरु आफूलाई सुरक्षित सम्झेर दैनिक कार्यमा फर्कन्छन्, बाहिर जान्छन् र अन्य मानिसहरुसँगको सम्पर्कमा आउँछन्,’ ब्रेननर भन्छन् ।

यो स्थितिमा सबैभन्दा ठूलो आशा अहिले नयाँ उपलब्ध सेरोलोजिकल टेस्टमा राखिएको छ, जसले मानिसको शरीरमा कोरोनाभाइरसका विरुद्ध उसको रोग प्रतिरोधी क्षमताले एन्टिबडी पैदा गरेको छ कि छैन भन्ने हेरिन्छ  । यो परीक्षण विधिबाट चाहिँ त्यो जाँचिएको व्यक्ति निको भइसकेको लामो समयपछि पनि उनी संक्रमित थिए कि थिएनन् भनेर पत्ता लगाउन सकिन्छ ।

यो विधि चाहिँ भरखरै संक्रमित भएका तर पीसीआर टेस्टबाट चाहिँ फल्स नेगेटिभ नतिजा आएका व्यक्तिमा पनि एक हप्ता पर्खेर उसको शरीरले एन्टीबडी पैदा गरेनगरेको हेरेर संक्रमणको पहिचान गर्न पनि प्रयोग गर्न सकिन्छ ।

‘हामी सेरोलोजिक टेस्टका बारेमा उत्साहित छौं, तर हामीलाई थाहा छैन यसले कत्तिको राम्रो काम गर्छ र हामीले यसबारेमा अध्ययन गर्न थालेका छौं,’ सम्पतकुमार भन्छिन् ।

(अलजजिरामा प्रकाशित सामग्रीको नेपाली अनुवाद)