डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०८२, १३ : ५८
डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ । मंगलबार राति परेको पानीले फेरि डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटबल सडक खण्ड अवरुद्ध भएको छ । सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरि अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी खुलेको थियो । मंगलबार रातिको बाढीले फेरि डाइभर्सन बगाउँदा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तत्काल यो सडक खुल्ने अवस्था नरहेकाले यो मार्ग भएर यात्रा नगर्न प्रहरीले सबैसित आग्रह गरेको छ । डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे पनि बाढीको बहाव नघटेकाले समस्या भएको बताइएको छ ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २ सय ४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । खोलाले यो डाइभर्सन बगाएको यो छैटौँ पटक हो । धेरैजसो सवारी साधनहरू, अरुण खोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छन् । जसका कारण सवारी साधनका चालक तथा सयौँ यात्रु अलपत्र परेका छन् ।

दाउन्नेमा निर्माणाधीन नयाँ पक्की पुल असार १४ गतेदेखि सञ्चालन हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस