चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्ने बताउनु भएको छ । निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याबसन) चितवनको वार्षिक साधारण सभालाई सोमबार क्षेत्रपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

शिक्षाको गुणस्तरबिना नागरिकको स्वास्थ्य र सभ्यताको कल्पना गर्न नसकिने बताउँदै महानगर प्रमुख दाहालले शिक्षाबिना महानगरको समृद्धिको चाहना पूरा हुन नसक्ने विचार व्यक्त गर्नुभयो । अबको आवश्यकता शिक्षाको गुणस्तर विकास भएको धारणा राख्दै उहाँले सबैका लागि सर्वसुलभ र ब्यावहारिक शिक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
निजी विद्यालयहरूले चितवनको शैक्षिक गुणस्तर विकासमा महत्वपूर्ण भूमिका खेलेकोप्रति निजी विद्यालयहरूको संस्था प्याब्सनप्रति धन्यवाद ब्यक्त गर्दै महानगर प्रमुख दाहालले भरतपुर महानगर शिक्षा क्षेत्रलाई गुणस्तरीय, सीपमूलक र प्रतिस्पर्धी बनाउन जीवनोपयोगी शिक्षा नीति तय गरेर अगाडि बढ्ने पक्षमा रहेको प्रष्ट पार्नुभयो । उहाँले यसका लागि निजी विद्यालयहरूको सहयोगको अपेक्षा गर्नुभयो ।
निजी विद्यालयहरू नाफामूलकमात्र नभई सेवामूलक हुन सुझाव दिँदै उहाँले यति ठूलो लगानी गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको निजी क्षेत्र विद्यार्थी र अभिभावकमैत्री बन्दै अगाडि बढ्न आग्रह गर्नुभयो । निजी विद्यालयहरू आमनागरिकको पहँुचमा हुनुपर्नेमा जोड दिँदै महानगर प्रमुख दाहालले निजी विद्यालयहरूले विभिन्न नाममा शुल्क वृद्धि गर्छन् भन्ने नागरिकरूको गुनासो आउन नदिने गरी भोलिका दिनमा अगाडि बढ्न आग्रह गर्नुभयो ।
समस्याहरू समाजका सबै क्षेत्रमा छन् । समस्याहरूबाटै सिक्दै र सच्याउँदै जाने हो, उहाँले भन्नुभयो, निजी विद्यालयहरूमा कार्यरत क्षिक्षक र कर्मचारीहरूको उचित पारिश्रमिकको ब्यवस्था गर्नु हुन म विद्यालय संचालकहरूलाई आग्रह गर्छु ।
ऐनमै ब्यवस्था भैसकेको दलित, अपांगता भएका, द्वन्द्वपीडित, आदिवासी, जनजाति र जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति अनिवार्य गर्नुपर्ने ब्यवस्था भए बमोजिम काम हुनुपर्ने बताउँदै दाहालले त्यसो नगर्ने विद्यालयहरूलाई महानगरले कारबाही गर्ने बताउनु भयो ।
महानगरले भर्खरै शिक्षा नियमावली निर्माण गरिसकेको छ, त्यसमा नपुगेका बिषयबस्तुहरू अझै थपघट तथा परिमार्जन गर्न सकिन्छ, महानगर प्रमुख दाहालले भन्नुभयो, महानगर निजी विद्यालयहरूसँग सहकार्य गर्न सधैं तयार छ । आउनुहोस् सहकार्य गर्दै अगाडि बढौं । सबैको पहुँचभित्र शिक्षा क्षेत्रलाई पु¥याऔं । सर्वसुलभ, ब्यावहारिक, गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रणालीको विकास गरौं ।
प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका सल्लाहकार लेखनाथ खनालले निजी विद्यालयहरूको अवस्था, अवसर, भोलिको चुनौती र यसमा देखिएका समस्याहरूको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्याब्सन चितवनका पूर्वअध्यक्षहरु केशव श्रेष्ठ, बेलबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बर्षभरी संस्थाले गरेका विभिन्न कार्यक्रममा उत्कृष्ट भएका विद्यालय र विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । चितवनमा रहेका १ सय ७० वटा निजी विद्यालयमा ७५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । चार हजारको हाराहारीमा शिक्षक, कर्मचारी कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस