लकडाउन अरु दुई साता थप्ने तयारीमा भारत

आइतबार, ३० चैत्र २०७६, १४ : ४६
लकडाउन अरु दुई साता थप्ने तयारीमा भारत

एजेन्सी । मार्च २५ देखि भारतले १ अर्ब ३० करोड जनसंख्यालाई लक डाउनमा राखेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएपछि भारतले लकडाउन अवधि दुई साता बढाउने तयारी सुरु गरेको छ ।

भारतका विभिन्न राज्यमा अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४७ पुगेको छ । तीमध्ये ६ हजार ५ सय ६५ जना अहिले पनि अस्पतालमै छन् । लकडाउन घोषणापछि पनि भारतमा कोरोनाको संक्रमण दिनदिनै फैलिरहेको छ ।

नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले त प्रधानमन्त्री मोदीले लक डाउन थप्ने निर्णय नै गरिसकेको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार गरेको भिडिओ कन्फरेन्सका क्रममा भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरूले लक डाउन कम्तिमा अप्रिल ३० सम्म थप्न सुझाव दिएका थिए।

भारतमा कोरोनाको सबैभन्दा धेरै संक्रमण फैलिएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले प्रधानमन्त्रीसँगको भिडिओ कन्फरेन्सपछि आफ्नो राज्यमा लक डाउन ३० अप्रिलसम्म जारी रहने बताएका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले पनि लक डाउन दुई साता लम्बिने प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस