जापानका ज्येष्ठ नागरिकबाट केही सिक्ने कि ?

आइतबार, ३० चैत्र २०७६, ०८ : २५
जापानका ज्येष्ठ नागरिकबाट केही सिक्ने कि ?

टोकियो । जापानी परम्परागत नाटक नोहको अभ्यास गर्दा मिको नगओकाको घुँडामा चोट लाग्यो। त्यतिबेला सय वर्ष लागेकी नगओकाले आफ्नो चोट निको पार्न पौडी खेल्न सुरु गरिन्। सोही वर्ष प्रकाशन गरेको पुस्तकको नाम जुराइन्– म सय वर्षको संसारकै उत्कृष्ट र सक्रिय पौडीवाज।

यसपछिका दिनमा उनले १५ सय मिटर पौडी खेलेर विश्व कीर्तिमान कायम गरेकी थिइन्। अहिले १०५ वर्षको उमेरसम्म आइपुग्दा नगओकाले १८ वटा विश्व कीर्तिमान कायम गरिसकिन्। सेप्टेम्बरमा जापानको फुकुवकामा भएको ५० मिटर ब्याकस्टोकमा उनले १०५ देखि १०९ वर्ष उमेरसमूहमा सहभागिता जनाएकी थिइन्। यस विधामा पहिलो विश्व कीर्तिमान राख्ने लक्ष्य पूरा नहुँदै उनलाई प्रतियोगिताबाट अवकाश लिन बाध्य पारियो। त्यसैले कैयौं प्रशंसकको तालिको गडगडाहटसँगै उनी पुलसाइडबाट हाँस्दै बाहिरिइन्।

शताब्दी कटाउने धावक हुन् हिडेकिची मियाजाकी। १०८ वर्षको उमेरमा गत वर्ष उनको निधन भयो। १०५ र त्यसभन्दा माथिको उमेर समूहअन्तर्गत सय मिटर दौडमा विश्व कीर्तिमान कायम गरेर १०५ वर्षीया मियाजाकी त्यतिबेला सञ्चार माध्यममा खुब छाएका थिए। यसरी नगओका र मियाजाकीले जस्तो बुढ्यौलीलाई सहज र सुन्दर बनाउने रहस्य स्वस्थ आहार बिहार र व्यायम हुन सक्छन्।

तर, यस्तो बुढ्यौली अवस्थामा पनि उत्तिकै प्रतिस्पर्धात्मक भावना कसरी जाग्छ भन्ने जिज्ञासा धेरैलाई लाग्न सक्छ। आफ्नै उमेर समूहका व्यक्तिसँग होस् वा आफूभन्दा सानासँग हुने स्वस्थ प्रतिस्पर्धामा केही पाउने आसले पक्कै महŒवपूर्ण भूमिका खेलेको हुन सक्छ। युचिरो मिउराको सन्दर्भमा पनि यस्तै भएको छ।

८६ वर्षीय व्यावसायिक स्कियर मिउरा यस्ता ज्येष्ठ नागरिक हुन् जसले जापानमा मात्र नभई विदेशमा पनि ख्याति कमाएका छन्। ४० वर्षको उमेरमा उनी प्यारासुट भिरेर सगरमाथाबाट स्कि गर्दै तल झरेका थिए। उनको उक्त साहसलाई द म्यान हु स्किड डाउन एभरेस्ट नामक वृत्तचित्रमा उतारिएको थियो। वृत्तचित्रले सन् १९७५ मा उत्कृष्ट वृत्तचित्रका लागि एकेडेमी अवार्डसमेत जितेको थियो।

७० वर्षको उमेरमा उनी पुनः सगरमाथा आरोहण गर्ने विश्वकै पाका व्यक्ति बनेका थिए। ७५ र ८० वर्षको उमेरमा पुनः सगरमाथा आरोहण गरेर आफ्नो कीर्तिमान मिउराले आफैं तोडेका थिए। गत वर्ष उनले दक्षिण अमेरिकाको सबैभन्दा अग्लो चुचुरो एकोनकागुवामा सफल आरोहण गरेपछि स्कि गर्दै तल झर्ने विचार गरेका थिए। तर, ६ हजार मिटरमा रहेको प्लाजा कोलेरामा पुगेपछि उनीसँगै गएका निजी चिकित्सकले अगाडि बढ्नबाट रोके। बढी उचाइमा हृदयाघातको जोखिम बढी भएको भन्दै उनलाई अगाडि नबढ्न निर्देशन दिइएको थियो।

आफूले अझै अर्को आरोहणको सोच राखेकाले चिकित्सकको निर्देशन पालना गर्नुपरेको जापान फर्केपछि आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी गराएका थिए। ९० वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गर्ने लक्ष्यको तयारीमा हाल मिउरा जुटेका छन्। जापानको सक्रिय ज्येष्ठ नागरिकको सूचीमा ८३ वर्षीय म्याराथन धावक मिचिहारु सिमोजो र ८० वर्षको उमेरमा पनि समुद्रमा सर्फिङ गर्ने सिची सानो पर्छन्। असीको दसकमा रहेका यस्ता व्यक्तिको सक्रियता खेलप्रतिको गहिरो लगावका कारण हो या अन्य केही, यो रहस्यकै विषय बनेको छ।

सक्रियताले बढ्दै छ उमेर

बुढ्यौली समाज विश्वव्यापी बनेको छ। संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०१९ समीक्षाको तथ्यांकअनुसार सन् २०५० सम्म ८० वर्ष र योभन्दा माथिका मानिसको संख्या अहिलेको भन्दा तेब्बर हुने भएको छ। हाल यो उमेर समूहका मानिसको संख्या १४ करोड ३० लाख रहेकामा ४२ करोड ६० लाख पुग्ने तथ्यांकले जनाएको छ। जापानको सरकारी तथ्यांकले पनि त्यहाँको कुल जनसंख्याको २८ प्रतिशत ६५ र योभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिक रहेका देखाएको छ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस