एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

शनिबार, २९ चैत्र २०७६, ११ : ३६
एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

खस्यौली । बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो ।

विषयविज्ञ शिक्षकले हरेक दिन अपराह्न १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । शान्ति नमूना माविबाट शिक्षकले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत पढाउने शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो ।

विद्यार्थीले आआफ्ना घरबाटैं मोबाइल एप जुम गरेर वा नगरपालिकाको फेसबुक पेज वा युट्युबबाट शिक्षकले पढाएको विषयवस्तुका बारेमा ज्ञान लिन सक्नेछन् । अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तरसमेत गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

नगर प्रमुख वासुदेव घिमिरेले कोरोना महामारीका समयमा सूचनाप्रविधिका माध्यमबाट विद्यार्थीलाई घरमै बसेर अध्ययनमा सघाउ पु¥याउन अनलाइन कक्षा सञ्चालन गरिएको बताउनुभयो । अनलाइन कक्षाबाट बढीभन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै नगर प्रमुख घिमिरेले लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्कने विद्यार्थीको प्रवृत्ति रोक्न पनि  केही हदसम्म कक्षा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । 

अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । एपको मिटिङ आइडी ५३५४०५९६०८ र पासवर्ड १२३४५ रहेको छ । 

तिलोत्तमाका ५१  सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै दुई हजार सात सय विद्यार्थी एसइईको तयारीमा छन् । कोरोनाको कारण एसइई शुरु हुने दिनको अघिल्लो साँझ सरकारले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगन गरेको थियो । 

वीरेन्द्रनगरका दुई विद्यालयद्वारा अनलाइनबाटै पठनपाठन शुरु 
सुर्खेत । लकडाउन (बन्दाबन्दी) लम्बिँदै गएपछि वीरेन्द्रनगरका दुई विद्यालयले अनलाइनबाटै पठनपाठन शुरु गरेका छन् । 

मङ्गलगढी चोकस्थित सैनिक आवासीय महाविद्यालय र खजुरास्थित चिल्ड्रेन्स प्याराडाइज माध्यमिक विद्यालयले अनलाइन कक्षा शुरु गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको नीति अपनाएपछि विद्यार्थीलाई पुनर्ताजगी गराउन अनलाइन कक्षाको शुरुआत गरेको ती विद्यालयले जनाएका छन् । सैनिक आवासीय महाविद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवं शिक्षक बेतेन्द्रकुमार दाहालले कक्षा १०, ११ र १२ का विद्यार्थीलाई लक्षित गरेर अनलाइन कक्षा शुरु गरिएको बताउनुभयो । “लकडाउन अवधिसम्म विद्यार्थीले पढेको भुल्ने, घरमै बस्दा दिक्क मान्ने समस्या थियो”, उहाँले भन्नुभयो, “नियमित पढाइदेखि परीक्षाको तयारी गर्नलाई यसले सहज बनाएको छ, विद्यार्थी क्रमशः अनलाइन नेटवर्कमा जोडिँदैछन् ।” हालसम्म १०० विद्यार्थी सहभागी अनलाइन कक्षामा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको छ ।

विद्यालयले ‘जुम क्लाउड मिटिङ’ एप्स डाउनलोड गरेर अङ्ग्रेजी, विज्ञान, गणित र अनिवार्य नेपाली विषय पढाउन शुरु गरेका छन् । चिल्ड्रेन्स प्याराडाइजका माविका प्रबन्ध सञ्चालक यदुप्रसाद ज्ञवालीका अनुसार एप्स डाउनलोड गरेपछि शिक्षकले नेटवर्कमा आवद्ध हुन विद्यार्थीलाई आइडी नम्बर दिन्छन् । सोही आइडी नम्बरबाट आ–आफ्नो घरमा रहेका शिक्षक÷विद्यार्थी अनलाइनमा जोडिन्छन् । शिक्षकले व्याख्यान विधिबाट पढाउने र विद्यार्थीले केही नबुझे हात उठाएर सोध्न सक्छन् ।
 
चिल्ड्रेन्स प्याराडाइजले मङ्गलबारदेखि अनलाइन पठनपाठन शुरु गरेको हो । अनलाइन कक्षाबाट विद्यार्थी सिकाइप्रति उत्साही छन् । “लामो समय स्कूल बन्द हुँदा पट्यार लागिरहेको थियो, घरमै बसेर शिक्षकबाट पढ्न पाउँदा खुशी लागेको छ”, कक्षा ९ मा अध्ययनरत भरत थापाले भन्नुभयो । प्रबन्ध सञ्चालक ज्ञवालीले आफ्ना विद्यार्थीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म दुई तथा दिउँसो ३ बजेदेखि तीन विषय पढाउने गरिएको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस