लकडाउन उल्लघंन गर्ने १ सय ६३ जना एकाबिहानै पक्राउ

शनिबार, २९ चैत्र २०७६, १० : ३६
लकडाउन उल्लघंन गर्ने १ सय ६३ जना एकाबिहानै पक्राउ

धरान । लकडाउनको बेवास्ता गर्दै मर्निङवाकमा हिँड्ने १ सय ६३ जनालाई शनिबार बिहान सुनसरीको धरानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार ३४ महिलासहित १ सय ६३ जनालाई नियन्त्रणमा लिएर धरानको पब्लिक हाइस्कुलको मैदानमा राखिएको छ ।

सरकारले गरेको लकडाउनको समयमा मर्निङवाक गर्नेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार पनि ९७ जनालाई नियन्त्रणमा लिएर साँझ ७ बजे छाडिएको थियो । उनीहरुका २९ वटा सवारी साधनहरूसमेत प्रहरी नियन्त्रणमा छन् । ती सवारी साधन भने लकडाउन खुलेपछि मात्र फिर्ता दिने प्रहरीले जनाएको छ ।

सर्वसाधरणहरुलाई दुई घण्टा खेलमैदानमा राखेर कोरोना भाइरस सम्बन्धी जानकारी दिएर मात्र प्रहरीले छाड्ने गरेको छ । यो अभियान लकडाउन भरी जारी रहने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । लकडाउनमा सार्वजानिक स्थल, र भिडभाडमा हिडन पाईदैन ।

शनिबारदेखि लकडाउन उल्लंघन भएका क्षेत्रहरुमा ब्यापक प्रहरी परिचालन गर्ने र लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने प्रहरीले बताएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन सतर्कता अपनाउन लकडाउन गरेपनि सर्वसाधारण त्यसलाई उल्लघंन गर्ने क्रम बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस