‘कोरोना संक्रमणको पुनरावृत्ति हुन सक्छ, लकडाउनसहितका उपायहरु चाँडै अन्त्य नगरौं : विश्व स्वास्थ्य संगठन

शनिबार, २९ चैत्र २०७६, १० : २४
‘कोरोना संक्रमणको पुनरावृत्ति हुन सक्छ, लकडाउनसहितका उपायहरु चाँडै अन्त्य नगरौं : विश्व स्वास्थ्य संगठन

एजेन्सी । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपायहरु चाँडै नै अन्त्य नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।  संगठनले संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह पनि गरेको छ । 

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु पर्ने बताएका छन्। प्रतिबन्धका कारण आर्थिक समस्या या संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले हतारो गर्न नहुनेमा उनले जोड दिएका छन् ।

युरोपमा सबै भन्दा बढी प्रभावित भएका स्पेन र इटालीमा केही प्रतिबन्धहरु खुकुलो पारिएको छ र त्यहाँ लकडाउन भने लागु छ । विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट झण्डै १७ लाख मानिस संक्रमित भएका छन् । यस्तै मृत्यु हुनेको संख्या एक लाख नाखेको छ ।

जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा. टेडरोजले युरोपका केही देशमा महामारी केही कम भएको देखिएको बताए । डब्लुएचओले विश्वका सरकारहरुसँग जारी प्रतिबन्धहरु फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको बताए । तर त्यसका लागि हतारो भने नरिने उनको भनाई छ ।

उनले भनेका छन्, ‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पुनः पहिले भन्दा घातक बनेर फैलिने जोखिम हुन्छ । यदी राम्रोसँग व्यवस्थापन गरिएन भने बढ्दो क्रमको भन्दा घट्दो क्रमको संक्रमण जोखिमपूर्ण हुन्छ ।’स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी छ । कामदारहरुलाई यी क्षेत्रमा जान दिने तयारी थालिएको छ ।

यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै डब्लुएचओले सचेत गराएको हो । तर स्पेन र इटालीका सरकारले सामाजिक दूरी भने कायम गर्न भनेका छन् । 

प्रतिक्रिया दिनुहोस