काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौ जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ । एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
संक्रमित उपचाररत अस्पतालका चिकित्सकले कोराना संक्रमण भएकाहरू निको हुने क्रममा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । चिकित्सकले पर्याप्त सतर्कता अपनाउन भने सबैमा आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार आइसोलेसन वार्डमा उपचाररत आठै जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । संक्रमितमध्ये दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, दुई जनाको धौलागिरी अस्पताल र चार जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीका प्रवक्ता डा. जगदीश जोशीले संक्रमितहरूको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ रहेको बताए । उनले भने, ‘संक्रमित चार जनामध्ये एक जनामा रुघाखोकी र ज्वरो आएको थियो । बाँकी तीन जनामा कुनै लक्षण देखिएको थिएन । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’
गत १० माघमा पहिलोपटक चीनको वुहानबाट फर्किएका ३२ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । १७ माघमा पुनः परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । १० चैतमा दोस्रो संक्रमित पुष्टि भएको थियो । दोस्रो संक्रमित ४ चैतमा कतार एयरको क्यूआर ६५२ को फ्लाइटबाट नेपाल भित्रिएकी थिइन् ।
काठमाडौंकी १९ वर्षीया ती युवती हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १२ चैतमा तेस्रो संक्रमित भेटिएका थिए । उनी युनाइटेड अरब इमिरेट्स (यूएई)बाट आएका धादिङका ३२ वर्षीय नेपाली पुरुष हुन् । ६ चैतमा नेपाल फर्किएका उनी १० चैतमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्न भएका थिए । उनको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । उनी एयर अरबियाको फ्लाइट नम्बर जी ९५३७ बाट यूएईको सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए ।
संयुक्त अरब इमिरेट्स दुबईबाट नेपाल फर्किएका धनगढीका ३४ वर्षीय पुरुष चौथो संक्रमित हुन् । १४ चैतमा संक्रमणको पुष्टि भएका उनको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पतालले जनाएको छ । बागलुङकी १९ वर्षीया युवती पाँचौं संक्रमित हुन् । १५ चैतमा संक्रमणको पुष्टि भएकी उनी कतार एयरको क्यूआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । उनको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
४ चैतमा कतार एयरबाट नेपाल आएकी बागलुङकी महिलामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६ पुगेको थियो । २० चैतमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो । हाल ती महिलाको धौलागिरी अस्पतालमा उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि