कोरोना सन्त्रास : विपन्न सिने क्षेत्रका मजदुरलाइ पनि राहत

सोमबार, २४ चैत्र २०७६, ०८ : २८
कोरोना सन्त्रास : विपन्न सिने क्षेत्रका मजदुरलाइ पनि राहत

काठमाडौं । नेपाली चलचित्रमा ज्यालादारी काम गर्ने प्राविधिकहरूका लागि सहयोग जुट्न थालेको छ । पछिल्लो एक महिनाभन्दा लामो समयदेखि चलचित्रको छायांकन रोकिएपछि कामविहीन भएका सिने मजदुरहरूको आर्थिक संकटबारे चार दिनअघि समाचार सार्वजनिक भएको थियो । त्यसपछि सम्बन्धित चलचित्रकर्मीहरूले सहयोग प्रदान सुरु गरेका छन् ।

सिनेमामा ज्यालादारीका रूपमा काम गर्ने मजदुर तथा प्राविधिकहरूको संस्था नेपाल चलचित्र प्राविधिक संघले आइतबारबाट प्राविधिकहरूलाई घरघरमै राहत पु¥याउन सुरु गर्ने संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराए । प्राविधिकहरू भोकै बस्ने अवस्था आएपछि कलाकारहरूले आर्थिक सहयोग सुरु गरेका छन् । आर्थिक रूपमा विपन्न प्राविधिकहरूका लागि अहिलेसम्म ९ लाख २६ हजार रुपैयाँ जुटेको छ । यो रकमको खाद्यान्न सामग्री प्राविधिक संघले संकलन गरिरहेको छ ।

विभिन्न प्राविधिकका लागि अभिनेता पल शाहले ५ लाख रुपैयाँ प्रदान गरेका छन् । यस्तै, लाइन प्रोड्युसर तथा छायांकार गौतम धिमालले २ लाख २५ हजार रुपैयाँको राहत सामग्री उपलब्ध गराएका छन् । यस्तै, अभिनेता एवं निर्माता दीपकराज गिरी र उनको समूहले १ लाख २० हजार रुपैयाँ प्रदान गरेका छन् । अन्य कलाकारमा अभिनेत्री वर्षा राउतले ५१ हजार रुपैयाँ र अभिनेता कृष्ण मल्लले ३० हजार रुपैयाँ प्रदान गरेको पनि नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराएका छन् ।

लामामा अनुसार अभिनेत्री पूजा शर्माले आफ्नो रिलिज हुन लागेको नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टिमबाट आइतबार २ लाख रुपैयाँ प्रदान गर्ने भएकी छन् । अहिलेसम्म उठेको रकमले राहत सामग्री किन्न खाद्य संस्थान पुग्दा ठूलो मात्रामा खाद्य संस्थानले आफूहरूलाई खाद्यान्न सामग्री उपलब्ध नगराएको पनि अध्यक्ष लामाले बताए, ‘व्यक्तिगत रूपमा एक÷दुई बोराका दरले चामल किन्न मिले पनि थोकमा यहाँ किन्न पाइँदैन भनेर खाद्य संस्थानबाट भनेपछि हामीले उद्योग मन्त्रालयको सिफारिसमा बाहिरबाट सामग्री किन्न सुरु गरेका छौं ।’

पहिलो चरणमा आफूहरूले ३ सय जना प्राविधिकलाई राहतको रूपमा खाद्यान्न सामग्री वितरण गर्न लागेको उनले बताए, ‘हामीले राहत प्याकेजका रूपमा प्रतिप्राविधिक ३ हजार रुपैयाँको सामग्री प्रदान गर्दै छौं । जसमा एक बोरा चामलसहित, दाल, खाने तेल, नुनजस्ता अत्यावश्यक खाद्यान्न सामग्री रहेको छ ।’

शनिबार बेलुका राहत सामग्री प्याकिङ गर्न व्यस्त रहेका अध्यक्ष लामासहित संघका पदाधिकारीहरूले आइतबार बिहानैबाट गाडीमा राखेर यी राहत सामग्री काठमाडौं उपत्यकाभित्र रहेका प्राविधिकहरूको घरघरमा पु¥याउने बताए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस