अस्पताल पुग्दा पनि उपचार नपाएर ज्यान गुमाइन् नरदेवीले

अहिले नै यस्तो छ, महामारी आए अवस्था कस्तो होला ?

बुधबार, १९ चैत्र २०७६, १५ : ०९
अस्पताल पुग्दा पनि उपचार नपाएर ज्यान गुमाइन् नरदेवीले

साङ्केतिक फोटो

विराटनगर । स्वास्थ्य समस्या आएर उपचारका लागि अस्पताल पुग्दा पनि ज्यान गुमाउनु पर्छ भने मुलुकमा भएका निजी अस्पतालहरुको के काम ? विराटनगरकी एक महिलाले अस्पताल पुगेर पनि समयमै उपचार नपाएर ज्यान गुमाउनु परेपछि यो प्रश्न निजी अस्पताल संचालकहरुमाथि तेर्सिएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङ मंगलबार विहान करिब ६ बजे बेहोस भइन् । उनलाई आफन्तले एम्बुलेन्स खोजेर धनकुटाको क्लिनिक हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याए ।

विहान नौ बजेतिर भर्ना गरिएकी उनलाई आईसीयूमा राख्नुपर्ने र आफ्नोमा नभएको भन्दै प्रतिष्ठानले विराटनगरको न्यूरो अस्पताल रेफर गर्‍यो ।

न्यूरोको इमरेजन्सीमा केहीबेर राखेर चिकित्सकले रेफर पुर्जी हेर्दै विराट नर्सिङ होम रेफर गरे । विराटले पनि रेफर पूर्जी हेर्दै नोबल मेडिकल कलेजमा पठायो ।

बिहान बेहोस भएकी र दिनभर अस्पताल चाहारेकी ५२ वर्षकी नरदेवीको शरीरमा १०२ डिग्री ज्वरो मापन गरिएको थियो । ज्वरोका कारण अस्पतालहरु नरदेवीको उपचार गर्नबाट तर्किए । दिनभरि पाएको दुःख सुनाएपछि नोबल मेडिकल कलेजले भर्ना त लियो तर डेढ घण्टामै उनको मृत्यु भयो । 

 ‘घोपाको देखाएको कागज हेर्दै दुई अस्पतालले फिर्ता पठाए’ छोरी लक्ष्मीले भनिन् ‘नोबेलमा भर्ना गर्दा ढिलो भइसकेको थियो ।’ समयमा नै उपचार नपाउँदा आमा गुमाउनुपरेको लक्ष्मीको गुनासो छ ।

धरानको रेफरपछि न्यूरोले भेन्टिलेटर खाली नभएको बताएको थियो । विराटले कुनै कारण नदेखाई रेफर गर्‍यो ।

‘न्यूरोले रेफर गर्दा खाली छैन होला जस्तो लागेको थियो’ उनले भनिन् ‘विराटले रेफर गरेपछि कुरा बुझेँ, दोस्रो भगवान मानेका चिकित्सकबाट धोका भयो ।’

उच्च रक्तचापका कारण बेहोस भएकी नरदेवीलाई नोबेलका चिकित्सकले ढिलो ल्याएका कारण बिरामी बचाउन नसकेको बताएको लक्ष्मीले बताइन् । ‘बिरामी हुँदा पनि उपचार पाइएन’ उनले भनिन् ‘लापरवाही गर्ने अस्पताल र डाक्टरलाई कारवाही हुनुपर्छ ।’

न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराई अस्पतालमा भेन्टिलेटर खाली नभएका कारण विरामीलाई रेफर गरेको बताउँछन् । बिरामीका कोरोना संक्रमणको शका नभएको बताउँदै उनले न्यूरोमा भेन्टिलेटर नै खाली नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस