५० लाखसम्म पारिश्रमिक लिने गरेको हल्ला पिटाउने सुपरस्टार विपद्का बेला कता बेपत्ता ?

आइतबार, १६ चैत्र २०७६, १३ : ०३
५० लाखसम्म पारिश्रमिक लिने गरेको हल्ला पिटाउने सुपरस्टार विपद्का बेला कता बेपत्ता ?

काठमाडौँ । फिल्म ‘चपली हाइट ३’ निर्माता अर्जुन कुमारले कोरोना भाइरस रोकथामका लागि खडा गरिएको कोषमा ५० हजार रुपैया दिने घोषणा गरेका छन् । तर, एउटै फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिने गरेको हल्ला पिटाउने नेपाली सुपरस्टार विपद्का बेला बेपत्ता छन् ।

सरकारको पछिल्लो तत्परतालाई ध्यानमा राखेर निर्माता अर्जुन कुमारले सो रकम सहयोग गर्न लागेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्यले भरिएको एक स्टाटस पोष्ट गर्दै लेखेका छन्,  ‘एउटा फिल्म अभिनय र निर्देशनको ५० लाख लिन्छु भन्ने सुपरस्टार र निर्देशक अहिले कुन दुलोमा छन् । खोजेर डोनेसन दिन लगाउनु पर्यो । हावामा बोलेका हुन् वा सही भनेका हुन् । यस्तो बेला खोजेर सदुपयोग गर्नुपर्यो ।’

निर्माता अर्जुनको यो व्यङ्ग्य अभिनेता अनमोल केसी र प्रदीप खड्का तथा निर्देशक रामबाबु गुरुङ प्रति लक्षित छ । यी अभिनेता र निर्देशकले नै एक फिल्मका लागि आफूले ५० लाखसम्म पारिश्रमिक लिने गरेको मिडियामा हल्ला पिटाउने गरेका छन् ।

निर्माता अर्जुनले कोरोनाबाट सबैलाई सजक रहन समेत अनुरोध गरेका छन् । ‘बेलायतको राजपरिवारलाई समेत कोरोनाले छोडेन । त्यसैले सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु’ उनको स्टाटसमा उल्लेख छ ।