कोरोना भाइरस

बैंकहरु समस्यामा, अन्यौलमा राष्ट्र बैंक

आइतबार, १६ चैत्र २०७६, ११ : ३५
बैंकहरु समस्यामा, अन्यौलमा राष्ट्र बैंक

File Photo

काठमाडौँ । सामान्य अवस्थामा हो भने बैंकहरुले कर्जा प्रवाह रोकेर साँवा र ब्याज उठाउने बेला सुरु भइसकेको छ । तर कोरोना भाइरसको संक्रमणका कारण अहिले देश लकडाउनको अवस्थामा छ । योे लकडाउन खुल्ने र जनजीवन तत्कालै सहज भइहाल्ने अवस्था अहिले देखिँदैन । यो अवस्थामा साँवाब्याज उठाउन के गर्ने भन्ने अन्यौलमा बैंकरहरु छन् । 

‘ऋणीलाई कर्जा तिर्न आऊ, ब्याज बुझाउन आऊ भनौं भनें, महामारीको बेला ताकेता गर्यो भन्छन् । त्यसो नभनौं भने नियम नै त्यस्तै छ । चैत मसान्तभित्र कर्जा नउठ्ने हो भने । नउठेको कर्जाको प्रोभिजनिङ गर्नुपर्छ’ एक वाणिज्य बैंकका कर्जा विभागका प्रमुख भन्छन्, ‘हाम्रो आफ्नै समस्या छ, कर्जाको ब्याज नउठाउने हो भने निक्षेपमा ब्याज तिर्न सक्ने कुरै भएन । तर निक्षेपकर्तालाई ब्याज दिँदैनौं भन्न त मिल्दै मिल्दैन । राष्ट्र बैंकले औपचारिक निर्देशन नदिने हो भने त हामीले नचाहेरै पनि सावाँ ब्याज उठाउन सुरु गर्नुपर्छ अब ।’

उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको बैठकले न्यूनतम वित्तीय सेवालाई निरन्तरता दिने निर्णय गर्दै बुधबार मातहतका सबै निकायहरुलाई निर्णय कार्यान्वयन गर्न निर्देशनात्मक पत्र पठायो । समितिले विभिन्न ९ वटा निर्णय गर्दै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति, सहकारी विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल बैंकर्स संघलाई आ–आफ्नो क्षेत्रसँग सम्बन्धित निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । 

उक्त निर्देशनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिँदै जाँदा सिर्जना भएको अप्ठ्यारो अवस्थामा सबै क्षेत्रबाट प्रवाह हुने न्यूनतम वित्तीय सेवालाई निरन्तरता दिन भनिएको थियो ।

कोरोनाभाइरसका कारण प्रभावित क्षेत्रलाई राहत दिने किसिमका केही निर्णय पनि उक्त समितिले गरेको थियो । 
उक्त निर्णयको बोधार्थ नेपाल बैंकर्स संघलाई पनि गएको छ । तर पत्र आयो भन्दैमा बैंकहरुले चेन अफ अर्डर मिचेर त्यसलाई खुरुखुरु कार्यान्वयन गर्न नमिल्ने बैंकरहरु बताउँछन् । यो निर्णय बैंकहरुका लागि एउटा सन्दर्भ सामाग्री भए पनि नेपाल राष्ट्र बैंकको निर्देशन नभई कर्जाको सावाँब्याज उठाउने वा नउठाउने भन्नेबारे कुनै काम गर्न नसकिने उनीहरुको भनाइ छ ।

तर, राष्ट्र बैंक दुवै कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने प्रभाव र यसका लागि ल्याउनुपर्ने राहतका बारेमा अध्ययन गरिरहेको औपचारिक जवाफ मात्रै दिन्छन् । उच्चस्तरीय समितिले निर्देशन दिएजस्तो कुन क्षेत्रमा प्रभाव पार्यो र कुन क्षेत्रको सावाँ ब्याज असुली स्थगन गर्ने पनि निर्णय हुनै बाँकी रहेको उनीहरु बताउँछन् । तर उनीहरुको समस्या भिन्नै छ । सबै क्षेत्रमा समस्या देखिएकोले अब कुन क्षेत्रलाई मात्रै प्रभावित क्षेत्र मान्ने भनेर उनीहरुले निर्णय गर्न सकेका छैनन् । 

‘अहिले कोरोनाको प्रभाव नदेखिएको क्षेत्र त कुन नै होला र ? सबै क्षेत्रमा प्रभाव देखिएपछि सबै क्षेत्रको कर्जाको सावाँब्याज स्थगन गर्नुपर्यो, त्यो गर्न त सरकारले राहत प्याकेज नै ल्याउनुपर्छ, बैंकहरुलाई त्यतिकै निर्देशन दिएर मात्रै त भएन नि १ त्यही भएर हामी कुनै निर्णय गर्न नसकेर बसेका छौं । पहिले सरकारले नै प्याकेज घोषणा गरोस् भन्ने हाम्रो चाहना हो’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।  

अर्थ मन्त्रालय पनि अहिलेसम्म अर्थतन्त्रमा परेका प्रभावका बारेमा अध्ययन गरिरहेको र त्यसलाई हेरेर राहत प्याकेज ल्याउने औपचारिक जवाफ मात्रै दिन्छ । तर तेस्रो त्रैमास सकिनै लाग्दा अब तत्कालै राहत प्याकेज नआउने हो भने वित्तीय क्षेत्रलाई यो समय निकै महँगो पर्ने चेतावनी भने विज्ञहरुले दिन थालिसकेका छन् ।