कोरोनाबाट बेलायतमा बाबुछोरीको मृत्यु, आमा क्वारेन्टाइनमा

शनिबार, १५ चैत्र २०७६, १३ : १३
कोरोनाबाट बेलायतमा बाबुछोरीको मृत्यु, आमा क्वारेन्टाइनमा

बुवा सुधीर शर्मा र छोरी पूजा । तस्बिर : द सन

एजेन्सी । कोरोनाको कहर विश्वव्यापी भएको छ । बेलायतमा २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणबाट बाबु र छोरीले ज्यान गुमाएका छन् ।

हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो।

बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको थियो भने ३३ वर्षीया छोरी पूजाको बिहीबार मृत्यु भएको हो। पूजाको मृत्यु अस्पताल भर्ना भएको ३ दिनमै भएको थियो। दुबैको अन्त्येष्टिमा कोही पनि मलामी नभएको समाचार द सनले लेखेको छ ।

समाचारका अनुसार आफ्ना श्रीमान्को अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन्।

‘यो तुलना नै गर्न नसकिने पीडा हो’, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ, ‘उनकी श्रीमती आइसोलेसनमा बस्नु परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन। यो निकै दर्दनाक अवस्था हो।’

बुवा सुधीरलाई विमानस्थल वा कहाँ भाइरस संक्रमण भएको भन्ने खुलेको छैन। विमानस्थलमा प्रिय अधिकृतका रूपमा चिनिएका उनलाई जनवरी ७ मा संक्रमण भएको थियो । सुधीर पश्चिमी लन्डनको हन्स्लो निवासी हुन् ।