कोरोना भाइरसको संक्रमणबाट इटालीमा एक दिनमा ९ सय १९ को मृत्यु

शनिबार, १५ चैत्र २०७६, ०७ : ३३
कोरोना भाइरसको संक्रमणबाट इटालीमा एक दिनमा ९ सय १९ को मृत्यु

एजेन्सी ।  विश्वभरि नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ९ सय १९ जनाको मृत्यु भएको छ । पछिल्ला समय कोरोनाको महामारीबाट इटाली सबै भन्दा बढी प्रभावित भएको छ । 

यो सँगै आज बिहानसम्म इटालीको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । त्यस्तै इटाली शुक्रबार मात्रै ५ हजार ९ सय जनामा संक्रमण देखिएको छ । यो संगै इटालीमा संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ भने करिब १० हजार निको भएका छन् ।

 इटालीको लोम्बार्डी क्षेत्रमा मात्रै पछिल्लो १ दिनमा ५ सय ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेको छ । आगामी अप्रिल ३ सम्म इटाली पूर्ण रुपमा लकडाउन गरिएको छ । इटालीको सरकारले कोरोना प्रभावसँग जुझ्नका लागि  २७ अर्ब अमेरिकी डलरबराबरको राहत प्याकेज घोषणा गरेको छ ।

यस्तै अर्को युरोपेली मुलुक स्पेनमा पनि शुक्रबार मात्रै ७ सय ७३ जनाको मृत्यु भएको छ भने थप ७ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको छ । आज शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार एक सय ३८ पुगेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म संक्रमितको संख्या ६५ हजारभन्दा बढी पुगेको छ भने करिब ९ हजार निको भएका छन् ।

अमेरिकामा संक्रमितको एक लाख नाघ्यो
कोरोना भाइरसको पछिल्लो पटक धेरै संक्रमित देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै करिब १७ हजार थप संक्रमित भेटिएका छन् । शनिबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा थप ३ सय १२ जनाको मृत्यु भएको छ । शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७ पुगेको छ । अमेरिकाको राजधानी वासिङ्टनलगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा २९९, बेलायतमा १८१, इरानमा १४४, जर्मनीमा ८४, नेदरल्यान्ड्समा ११२, स्विजरल्यान्डमा ३९, बेल्जियममा ६९, दक्षिण कोरियामा ८ र चीनमा ३ जनाको मृत्यु भएको छ ।

विश्वका विभिन्न देशमा गरी पछिल्लो २४ घण्टामा मात्रै ३ हजार एक सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । कोरोना रोकथामका लागि यि देशहरुले लकडाउन देखि विभिन्न उपाय अपनाएपनि संक्रमण  र मृत्यु दर घट्न सकेको छैन । विभिन्न देशका सरकारले यसको महामारीसंग लडन अर्बौ डलर छुटयाएको छ ।

प्रतिक्रिया दिनुहोस