लकडाउन उल्लघंन गर्ने प्रवृत्ति बढेपछि सरकार थप कडाई गर्दै

पत्रपत्रिकाबाट

विहीबार, १३ चैत्र २०७६, ०७ : ४६
लकडाउन उल्लघंन गर्ने  प्रवृत्ति बढेपछि सरकार थप कडाई गर्दै

काठमाडौँ  । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लकडाउन) प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई थप प्रभावकारी बनाउन थालिएको छ ।

कोरोना सङ्क्रमित थप अर्को व्यक्ति फेला परेसँंगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि लकडाउन प्रभावकारी बनाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन पुनः आग्रह गरेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णयबमोजिम सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार ११ गते मङ्गलबारबाट लागू भएको सो कानुन कार्यान्वयनमा सर्वसाधारणको सहयोगप्रति धन्यवाद दिनुभयो ।

यो ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको हो । उहाँले यो ऐन कार्यान्वयनका क्रममा केही अन्योला उत्पन्न भई सानातिना समस्या देखिए पनि सहज रूपमा समाधान भएको स्पष्ट पार्नुभयो । लकडाउनको दोस्रो दिन काठमाडौंँ उपत्यकामा केही उल्लङ्घनका घटना बढेका छन् । आफूखुसी सवारी सञ्चालन गरेको अवस्थामा चालक र सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैलालगायत आवश्यक उपभोग्य वस्तुहरूको कारोबार गर्ने पसलहरू बन्द नहुने र सदाझैँ निर्बाध रूपमा सञ्चालन गर्न गराइदिन आग्रह गरेको छ ।

थप सचेतताको तयारी
प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक आफूखुसी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीले अप्ठ्यारो परेकालाई सोधपुछ गरी छोडिदिने र अन्यको हकमा नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन भएको बताउनुभयो । “यो सङ्कटको बेला हामीले आफ्नो सुरक्षा आफँैले गर्ने हो”, उहाँले भन्नुभयो ।

सवारी नियन्त्रणमा
छिमेकी जिल्लाहरू धादिङ, नुवाकोट, काभ्रे, गोरखा, मकवानपुर र रसुवा जान मोटरसाइकलमा हिँडेकालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ७७० मोटरसाइकल, १२१ गाडी गरी आठ सय ९१ भन्दा बढी सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । गम्भीर समस्या परेमा नजिकको प्रहरी तथा जनप्रतिनिधिलाई खबर गर्न अनुरोध गरिएको छ । खाद्यवस्तु, औषधि उपचार वा बिरामी परेमा तत्कालै नजिकको प्रहरी वा हटलाइन टेलिफोनमा सम्पर्क गरी सहयोग लिन भनिएको छ ।

सवारी पासको सकस
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कुनै जरुरी काम नपरीकन सवारी पास माग गर्ने प्रवृत्ति बढेको भन्दै पास वितरण व्यवस्थित पारिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अतिआवश्यक कामबाहेक अन्य कामका लागि पास लिन भीड नगर्न आग्रह गर्नुभएको छ । सञ्चारकर्मीका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ । स्वास्थ्यकर्मी तथा मेडिकलजन्य उपकरण तथा औषधि ढुवानीकर्ताका लागि परिचयपत्र भए पुग्नेछ । मलामी, बिरामी कुरुवा र बिरामी व्यक्तिका लागि नजिकको प्रहरीसँंग समन्वय गर्न भनिएको छ ।

भारतबाट आएकालाई नयाँ व्यवस्था
नेपाल–भारत सीमामा अलपत्र परेकालाई कडा स्वास्थ्य जाँच गरी सम्बद्ध स्थानीय तहले क्वारेन्टाइनमा राख्ने गरी नेपाल प्रवेश गर्न अनुमति दिइएको छ । मन्त्रालयका अनुसार सम्बन्धित प्रदेश सरकार वा जिल्ला र स्थानीय तहले भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्नु पर्नेछ ।   गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस