कोरोना भाइरस

इटालीमा यसरी फैलिएको थियो कोरोना भाइरसको संक्रमण

बुधबार, १२ चैत्र २०७६, १६ : ३६
इटालीमा यसरी फैलिएको थियो कोरोना भाइरसको संक्रमण

एजेन्सी । कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा जनवरीको सुरुमै कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । तर सो क्षेत्रमा फेब्रुअरी २० मा आएर मात्रै संक्रमितको पहिलो पटक पहिचान भएको थियो ।

पूरै जनवरी र फेब्रुअरीको सुरुका तीन हप्ता कोरोना भाइरसको पहिचान हुन नसकेका कारण धेरैमा संक्रमण फैलिएको पछिल्लो अध्ययनमा उल्लेख छ ।

लोम्बार्दी क्षेत्रको महामारीको विश्लेषणमा कोभिड–१९ को लक्षण पहिलो संक्रमण पुष्टि हुनुभन्दा हप्तौँ पहिले देखिएको खुलेको हो ।

इटालीमा कोभिड–१९ संक्रमणको इपिसेन्टरमा रहेको लोम्बार्दीमा कसरी महामारी फैलियो भन्ने बारे गरिएको अध्ययनमा परीक्षणबाट संक्रमण पुष्टि भएका झण्डै ६ हजार केसको अध्ययन भएको हो ।

इटालीको तुरिनमा रहेको इन्स्टिच्युड अफ इन्टरचेन्ज (आइएसआइ) फाउन्डेशनका सरुवारोग विरुद्धको रणनीतिकर्ता मिकेले तिज्जोनीले भनेका छन्, ‘जनवरीमै फैलिएको संक्रमण पहिचान नहुनु अति जोखिमपूर्ण हो । त्यो बेलामा शायद हामीले वुहानका बारेमा कुरामा मात्रै गरिरहेका थियौँ।’

पहिलो संक्रमण पुष्टि हुने बेलासम्म लोम्बार्दीको दक्षिणी क्षेत्रका अधिकांश बजार तथा शहरमा संक्रमण फैलिसकेको थियो । सो क्षेत्रका संक्रमित मध्ये आधालाई अस्पताल भर्ना गर्नु परेको छ । त्यसमध्येका २० प्रतिशतलाई आइसियूमा राख्नु परेको छ ।

अहिले लोम्बार्दीमा देखिएको संक्रमणको अवस्थाबाट मुक्त हुनका लागि आक्रामक र प्रभावकारी रणनीति आवश्यक रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस