चिकित्सक र स्वास्थ्य कर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, १४ : ००
चिकित्सक र स्वास्थ्य कर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

चितवन । घरमा भाडामा बस्ने अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाईरस (कोभिड १९)को संक्रमणको त्रास संगै जिल्लामा भाडामा बस्ने उनीहरु माथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । 

कोरोना नियन्त्रण कार्यदल चितवनको आज यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीहरु बस्ने घरधनीहरुबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराईएको थियो । बैठकमा सहभागी कार्यदलका प्रबक्ता डा. भोजराज अधिकारीका अनुसार त्यस्तो पाईएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । 

उहाँले भन्नुभयो “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्य कर्मीले कार्यदलका सदस्यहरुलाई गुनासो गरेको बैठमा जानकारी गराईएको थियो । 

बैठकले भरतपुर कोरोना बिशेष(अस्थाई) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरंग सेबा र आईसोलेसनको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० शैयाको सघन उपचार कक्ष, १० शैयाको एचडियु र ५० साधारण शैया रहेको छ । कार्यदलका प्रबक्ता अधिकारीका अनुसार आबश्यकता अनुसार शैया थप समेत गर्ने बैठकमा छलफल भएको थियो ।

कोरोना भाईरस (कोभिड १९)को आशंका भई गम्भिर भएका बिरामीलाई जिल्लामा संञ्चालन भईरहेका मध्ये एक अस्पतालको सघन उपचार कक्षमा उपचार गर्ने बिषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा  भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गराउनुपर्ने र त्यस अस्पताल भरिए पछि चितवन मेडीकल कलेज, कलेज अफ मेडीकल साईन्सेस, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल र नीजि अस्पतालका सघन उपचार कक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाब दिएका थिए । भरतपुर अस्पतालमा रहेको २० शैयाको सघन उपचार कक्षलाई बिस्तार गर्नुपर्ने र त्यस्ता बिरामीहरुको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाब आएको अधिकारीले जानकारी दिनुभयो । 

बैठकले कोरोनाको आशंका भई गम्भिर रहेका बिरामीलाई भरतपुर सहितका अस्पतालहरुमा उपचार गर्न व्यवस्थापन गर्नका लागि बिशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीहरुलाई जिम्मेवारी समेत दिएको छ । 

कोरोना उपचारमा प्रत्यक्ष रुपमा सम्लङ्न भई क्वारेन्टाईनमा बस्नु पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलहरुमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना संक्रमणको आशंकामा घरबाटनै स्वाब लिनुपर्ने बिरामीका लागि आबश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षा कर्मीको सहयोगमा घरमानै पुगेर स्वाब लिईने छ । 

कार्यदलले बिभिन्न स्थानबाट माग र खरिद गरेका उच्च स्तरका र सर्जिकल मास्कहरु भरतपुर अस्पताल, नीजि मेडीकल कलेज, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, नीजि अस्पताल, एम्बुलेन्स चालक र सुरक्षा कर्मीलाई आजै बितरण गरेको जनाएको छ । भित्र बिरामी संग हेलमेल हुनेका लागि एन ९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क बितरण गरिएको अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस