कतार एयरलाइन्सबाट नेपाल आएकामध्ये चितवनका ६ जनाको खोजी गर्दै प्रहरी

बुधबार, १२ चैत्र २०७६, १३ : ३१
कतार एयरलाइन्सबाट नेपाल आएकामध्ये चितवनका ६ जनाको खोजी गर्दै प्रहरी

चितवन । चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका एक सय ५८ जनामध्ये चितवनका ६ जनाको खोजी कार्य प्रहरीले सुरु गरेको छ ।

कतार एयरलायन्सको विमानबाट चितवनमा आएकाहरुमा दीक्षा कँडेल, शम्भु नेपाली, पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला र सुरेश गुरुङ रहेका छन् । 

सोही विमानबाट नेपाल फर्किएका अन्य यात्रुमा पनि कोरोना फैलिने सम्भावना भएकाले चितवनमा आएका जोखिममा रहेका छ जनालाई पनि चितवन प्रहरीले खोजी गरेको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार निजहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नामसहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको चितवन प्रहरी कार्यालय, विशेष शाखाका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरलायन्सको विमानबाट नेपाल आएकी एक १९ वर्षीया युवतीलाई संक्रमणको आशंकामा टेकु अस्पतालमा चेकजाँच गर्दा कोरोना भाइरसको संक्रमण देखा परेपछि हाल आइसोलेसनमा उपचार गराइरहेकी छन् ।