‘लकडाउन’ उल्लङ्घन गर्ने ३ सय सवारीसाधन नियन्त्रणमा

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, ०९ : ३४
‘लकडाउन’ उल्लङ्घन गर्ने ३ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौँ । सरकारको आदेश (लकडाउन) उल्लंघन गर्ने क्रम अझै रोकिएको छैन । हिजो भन्दा आज झन् बढी उल्लंघन भएको पाइएको छ ।  कोरोना भाइरस (कोभिड ­१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने तीन सय भन्दा बढी सवारी साधनलाई आज उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अटेर गरेर आदेश उल्लङ्घन गरी सवारी सञ्चालन गरेको पाइएपछि ३ सय २ सवारी साधनलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । त्यसमध्ये २ सय ६४ दुई पांग्रे सवारीसाधन छन् भने अरु चार पांग्रे छन् । प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई गरी घरतर्फ नै फर्काएको छ । माईकमार्फत पनि प्रहरीले अपिल गरिरहेको छ भने भित्री क्षेत्रमा समेत पुगेर भिडभाड नगर्न भनिरहेको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने भएकाले अन्य सवारी साधन नचलाई सहयोग गर्र्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ । यस्तै अत्यावश्यक काम बाहेक कोही पनि घरबाट ननिस्कन समेत आग्रह गरेको छ । 
सरकारले कोरोना भाइरस फैलन नदिन मङ्गलबारदेखि चैत १८ को बिहान ६ बजेसम्मका लागि लागू हुने गरी अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन आदेश जारी गरिसकेको छ । नेपालमा चिन र फ्रान्सबाट आएका दुई जनामा कोरोना भाइरस संक्रमण भएको भेटिएको थियो । 

सरकारले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड­१९ को रोकथाम र निर्मूूल गर्न अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको हो । आदेशमा ‘औषधोपचार, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन’ भनिएको छ । 

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत् दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुनेछन् ।

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक र कर्मचारीलाई बिदा दिइएको छ । औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गरिने तथा अभाव देखाई मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस