कोरोना संक्रमित युवती आएको कतार एयरवेज जहाजको सबै नेपाली यात्रु पहिचान

पत्रपत्रिकाबाट

बुधबार, १२ चैत्र २०७६, ०७ : २३
कोरोना संक्रमित युवती आएको कतार एयरवेज जहाजको सबै नेपाली यात्रु पहिचान

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला आएको जहाजमा रहेका व्यक्तिहरुको पहिचान भइसकेको सरकारले जनाएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताए।

संक्रमित महिलासँग घरमा रहँदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उनले बताए। जहाजमा संगै आउने व्यक्तिहरुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले बताए। त्यस्तै अहिलेसम्म ६ सय १० वटा नमुना परिक्षण भएकोमा २ वटाबाहेक नयाँमा संक्रमण भएको नपाइएको उनले बताए।

कोरोना संक्रमण भएको १ जना र आशंका गरिएका अन्य १५ जना सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको उनले बताए। त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन भने ५ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरुको मात्र परीक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मिहरु, दिर्घरोगिहरु र सघन उपचार कक्षमा रहेकामा फ्ल्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परिक्षण सुरु गरेको छ।

त्यस्तै अन्य अस्पतालहरुमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका विरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नु पर्ने र कोरोना परीक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले बताए। उनले विरामीलाई रिफर नगरीकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताए। उनले विदेशबाट आएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसी आफुखुसी बस्न थालेकाले देशभर लकडाउन गर्नुपरेको समेत बताए।

स्वास्थ्य  सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिलेसम्म रहेका स्वास्थ्य सामग्रीहरुमा पीपीइ सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पंजा, १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सुकभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन्। यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रहरुमा वितरण गर्न राखिएको फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा रहेको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस