भारतमा आज मध्य रातिबाट तिन साता लामो ‘लकडाउन’

यी २१ दिन हामीले आफुलाई सम्हाल्न सकेनौँ भने देश २१ वर्ष पछि धकेलिनेछ

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, २१ : २७
भारतमा आज मध्य रातिबाट तिन साता लामो ‘लकडाउन’

काठमाडौं ।  कोराना भाइरसको संक्रमण दिन प्रति दिन बढ्दै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजै मध्यरातिबाट लागु हुनेगरी ३ साता सम्मको लागि  ‘लक डाउन’ घोषणा गरेका छन् । आज साँझ टेलिभिजनमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले भारतलाई बचाउनका लागि आज राति १२ बजेदेखि लागु हुनेगरी पूरै देशमा पूर्ण लकडाउन घोषणा गरिएका बताए । । यो जनता कफ्र्यूभन्दा निकै कडा हुनेछ,’ ५ दिनमा दोस्रो पटक देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भने, ‘बाहिर निस्कनु के हो यी २१ दिनका लागि भुलिदिनुस् । यी २१ दिन हामीले आफुलाई सम्हाल्न सकेनौँ भने देश २१ वर्ष पछि धकेलिनेछ ।

’कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको उनले बताए । ‘कोरोनासँग लड्नका लागि सोसल डिस्टेन्सिङ जरुरी छ । हामीले संक्रमणको चक्रलाई तोड्नुपर्छ । कोरोनासँग तब मात्र बचिन्छ जब हामी घरको लक्ष्मण रेखा नाघ्दैनौँ,’ उनले भने ।

‘यदी लापरवाही जारी रह्यो भने भारतले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । त्यो मूल्य कति हुनेछ भन्ने कसैले अन्दाज नै लगाउन सक्नेछैन,’ उनले भने । ‘हामीले देखिरहेका छौँ कि विश्वका सामर्थवान देशहरु यो महामारीको अगाडि लाचार बनेका छन् ।

उनीहरुको प्रयास नगरेका पनि होइनन्, उनीहरुसँग संशाधनको कमी पनि छैन । तर कोरोनाभाइरस यति तेजीले फैलिरहेको छ कि सबै तयारी र प्रयासका बावजुद यो फैलिरहेको छ । सबै देशले दुई महिनाको अध्ययन पछि निष्कर्ष निकालेका छन् कि कोरोनासँग प्रभावकारी रुपमा लड्न एक मात्र विकल्प भनेको सोशल डिस्टेन्सिङ नै हो,’ मोदीको भनाइ थियो ।

उनले कोरोनाको अर्थ भनेको को– कोही, रो–रोडमा, ना– न निक्लनु भन्ने रहेको पनि जिकिर गरे । उनले यस अवधीमा हरेक राज्य, जिल्ला, गल्ली र गाउँ लकडाउन हुने बताए । सरकारले अत्यावश्यक सबै कुराको तयारी गरेको उनले बताए ।

उनले सबै जनतासामु सरकारले लागु गरेका नियम पालना गर्न अनुरोध गरे । भारतमा दिन प्रति दिनक कोरोना संक्रमण बिरामीको संख्या बढ्नुको साथृ मृत्युको संख्या पनि बढ्दै गएको छ । अहिले सम्म भारतमा कोरोनाको संक्रमणबाट १० जनाले ज्यान गुमाईसकेका छन् भने ५ सय बढी संक्रमित भएको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस