विदेशका कामदारको सुरक्षामा सरकारको ध्यान

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, २० : ०८
विदेशका कामदारको सुरक्षामा सरकारको ध्यान

फाईल फोटो

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विदेश स्थित नेपाली कामदारको सुरक्षाका लागि सरकारले अभिभावको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् । 
सरकारको भूमिका प्रष्ट पार्दै आज मध्यपूर्व तथा अफ्रिकास्थित नेपाली नियोगप्रमुखहरूसँग कोरोना भाइरसको वर्तमान स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्थाका बारेमा विदेश स्थित कूटनीतिक नियोगका पदाधिकारीसँग छलफल गरेका हुन्  ।कोरोना सक्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा त्यसबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा भिडियो सम्मेलनमार्फत विभिन्न देशका राजदूतसँग उनले परामर्श गरेका हुन् । 

 भिडियो सम्मेलनमा नियोग प्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको संक्रमणको अवस्था, त्यहाँको सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदम, नेपाली नागरिकको अवस्था, दूतावासले नेपाली नागरिकलाई पर्याइरहेका नियमित र आकस्मिक सेवा लगायतका विषयहरूमा जानकारी गराए । 

माननीय परराष्ट्र मन्त्रीले नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदमहरूको बारेमा नियोगप्रमुखहरूलाई जानकारी दिए । उनले आफू प्रमाणीकृत मुलुकहरूमा भएका सक्रमण सम्बन्धी नियमित रूपमा अभिलेखीकरण गर्ने, नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही आवश्यक कार्य गर्न अह्राए ।

साथै नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउने तथा नेपाली समुदाय र दूतावास परिवार समेत संक्रमणका बारेमा जागरूक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्न निर्देशन दिए ।     

भिडियो सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री रामेश्वर राय यादव, परराष्ट्र सचिव श्री शंकरदास बैरागी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री बिनोद के.सी. लगायत सहभागि थिए । 
 

प्रतिक्रिया दिनुहोस