भारतीय प्रधानमन्त्री मोदीद्वारा औषधी उत्पादन बढाउन निर्देशन

रासस

शनिबार, ०८ चैत्र २०७६, २० : ०१
भारतीय प्रधानमन्त्री मोदीद्वारा औषधी उत्पादन बढाउन निर्देशन

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधी कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिनुभएको छ ।

शनिबार भिडियो सम्मेलनमार्फत औषधी उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उहाँले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभएको हो ।

प्रतिक्रियामा औषधी कम्पनीका सञ्चालकहरूले प्रधानमन्त्री मोदीलाई औषधीको उत्पादन बढाउने आश्वासन दिएका थिए । उनीहरूले आफूहरूसँग औषधी उत्पादनका लागि प्रशस्त कच्चा पदार्थको भण्डारण रहेको र औषधीको उत्पादनका सम्वन्धमा कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए । 

औषधी उत्पादनका क्षेत्रमा काम गर्ने रसायनविद् तथा फर्मा कम्पनीले हरेका नागरिकका लागि राष्ट्रको चिन्ता पहिलो हुने भन्दै हप्तामा सातै दिन पूरा २४ घण्टाका दरले औषधीको उत्पादन गर्ने बताएका थिए ।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २८३ पुगेको र यसका कारण चार व्यक्तिको मृत्यु भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले औषधी उत्पादनमा कमी नआओस् भन्ने उद्देश्यले व्यवसायीसँग अन्तक्रिया गरी उनीहरूको तयारीबारे धारणा बुझ्नुभएको हो । भारतमा उत्पादन हुने औषधीको भर खास गरी दक्षिण एशियाली मुलुकहमा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस