भरतपुर महानगरमा नमुना पुस्तकालय बन्दै

सफल खबर संवाददाता

बुधबार, ०५ चैत्र २०७६, १७ : ३५
भरतपुर महानगरमा नमुना पुस्तकालय बन्दै

चितवन । नेपाल जर्नी संस्था र भरतपुर महानगरबीच पुस्तकालय निर्माण सम्झौता भएको छ । 

भरतपुर महानगर वडा नम्बर ४ वडा कार्यालय नजिकै रहेको जमिनमा पुस्तकालय निमार्णका लागि महानगरले नेपाल जर्नी संस्थालाई २ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएको छ । सोही जग्गामा पुस्तकालय निर्माणका लागि नेपाल जर्नी संस्था र महानगरबीच सम्झौता भएको हो । 

भरतपुर महानगरका तर्फबाट मेयर रेनु दाहाल र नेपाल जर्नी संस्थाका तर्फबाट अध्यक्ष गोपाल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । करिब ३ करोडको लागतमा नेपाल जर्नी संस्थाले महानगर ४ मा दुईतले सुविधायुक्त नेपाल जर्नी अपांगमैत्री विद्युतीय पुस्तकालय भवन निर्माण गर्ने छ । 

नेपाल जर्नी संस्था अमेरिकाकी अध्यक्ष मौसमी श्रेष्ठले पुस्तकालय निर्माणको अभियान थालनी गर्नु भएको हो । संस्थाले दाताहरुको सहयोगमा पुस्तकालय निर्माण गर्नेछ । पुस्तकालय भवन दुई वर्षभित्र निर्माण गर्ने र निर्माण सम्पन्न भएको तीन वर्षसम्म नेपाल जर्नी संस्थाले नै ब्यवस्थापन गर्ने र त्यसपछि महानगरलाई हस्तान्तरण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख रेनु दाहालले नेपाल जर्नीले निर्धारित मितिमा ब्यवस्थित र नमुना पुस्तकालय निर्माण गर्ने र त्यसका लागि महानगरले सहयोग गर्ने बताउनु भयो ।

नेपाल जर्नी संस्थाले भरतपुरमा नमुना पुस्तकालय निर्माण गर्ने योजना बनाएको र त्यसका लागि महानगरमा सम्झौता भई निर्माण समिति र अनुगमन समिति निर्माण गरिएको नेपाल जर्नी संस्थाका अध्यक्ष गोपाल भण्डारीले बताउनु भयो ।

संस्थाले अध्यक्ष भण्डारीको अध्यक्षतामा ५ सदस्यीय अनुगमन समिति बनाएको छ । जसको सदस्य सचिवमा प्रकाश सिग्देल, सदस्यमा हरि आचार्य, कविता खतिवडा र नवीन श्रेष्ठ रहनु भएको छ ।

यसैगरी बैकुण्ठचोक टोल सुधार समितिका अध्यक्ष शिव लामिछानेको अध्यक्षतामा भवन निर्माण समिति गठन भएको छ । भवन निर्माण समितिको सदस्यमा तेजनारायण खरेल, उज्ज्वल श्रेष्ठ, गणेशलाल श्रेष्ठ, प्रकाश थापा र श्रीराम गिरी एवं सदस्य सचिवमा प्रकाश सिग्देल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस