चितवन एक्स्पो सेन्टरलाई ७२ घन्टाभित्र कोरोना अस्पताल बनाइने

कोरोना भाइरसबाट सुरक्षित राख्न भरतपुर महानगरमा उच्च सतर्कता अपनाइएको छ : प्रमुख दाहाल

मंगलबार, ०४ चैत्र २०७६, १२ : १०
चितवन एक्स्पो सेन्टरलाई ७२ घन्टाभित्र कोरोना अस्पताल बनाइने

चितवन । भरतपुर महानगरपालिकालाई कोभिड–१९ (कोरोना भाइरस) बाट सुरक्षित राख्न उच्च सतर्कता अपनाइएको छ । भरतपुर एक्स्पो सेन्टरमा ७२ घन्टाभित्र कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले कोरोना भाइरसको संक्रमणबाट नगरवासीलगायत सिंगो चितवनलाई नै सुरक्षित राख्नलाई उच्च सतर्कता अपनाइएको बताउनुभयो । आज भरतपुरको चितवन एक्स्पो सेन्टरमा भएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीको लागि अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले नगरवासीलाई सुरक्षित राख्न महानगरले उच्च सतर्कताका साथ विशेष कार्यक्रम गरिरहेको बताउनुभयो ।

उहाँले विमानस्थलमा हेल्थ डेस्क स्थापना, भरतपुर अस्पतालमा आइसोलेसन बेड थप गरिएको, सबै निजी अस्पतालहरुमा दुई वटासम्म आइसोलेसन बेड राख्नेलगायतका काम भइरहेको बताउनुभयो ।अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोना भाइरसको संक्रमण हुन सक्ने हुनाले सावधानी अपनाउनुपर्ने बताउनुभयो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, डा भोजराज अधिकारी, डा दयाराम लम्साल, डा अनिलविक्रम कार्कीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । 
अन्तक्र्रिया कार्यक्रमपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण पूर्व तयारीको लागि कार्यदल गठन भएको छ ।

 

महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलले भरतपुर एक्स्पो सेन्टरमा ७२ घन्टाभित्र कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ । महानगर प्रमुख दाहालले १० शैयाको आईसीयू, १० शैयाको एचडीयू र ५० शैयाको जनरल वार्ड बनाउने निर्णय  भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘७२ घण्टाभित्र चितवन एक्स्पो सेन्टरमा ७० बेडको कोरोना विशेष अस्पताल बनाई सेवा सुरु गरिन्छ ।’

कार्यदलले एक्स्पो सेन्टरमा अस्पताल बनाउनको लागि कार्य विभाजनसमेत गरेको छ । कोरोना विशेष अस्पतालको लागि ओपिडी हेर्नको लागि डा भोजराज अधिकारी र डा अनिलविक्रम कार्कीलाई जिम्मा तोकिएको छ ।

यस्तै जनरल वार्डको लागि क्यान्सर अस्पतालका प्रमुख डा विजयचन्द्र आचार्य र कर्मचारी व्यवस्थापनमा भरतपुर अस्पतालका मेसु डा श्रीराम तिवारीलाई जिम्मा दिइएको छ ।यसैगरी कार्यदलले अस्पतालको लागि सामग्री व्यवस्थापनको जिम्मा क्यान्यस अस्पताललाई दिएको छ । क्यान्सर अस्पतालले तत्काल २० वटा आईसीयू बेड उपलव्ध गराउने भएको छ । 

'कोरोना विशेष अस्पतालमा शंकास्पद सबै बिरामीलाई राखिन्छ, भरतपुर अस्पताललगायतमा रहेको आइसोलेसन वार्डहरु पनि कायम रहन्छन्’ महानगर प्रमुख दाहालले बताउनुभयो । डा अनिलविक्रम कार्कीका अनुसार एक्स्पो सेन्टरमा चल्ने कोरोना अस्पतालमा ७२ घन्टाभित्र सञ्चालन गरी सेवा दिन सक्ने अवस्थामा कार्यदलले काम सुरु गरिसकेको छ । 

डा भोजराज अधिकारीले बिरामीको खाने, बस्नेलगायतका सम्पूर्ण प्रक्रियाहरु पूरा गरी व्यवस्थापकीयसहित कोरोना अस्पताल सञ्चालन गर्ने गृहकार्य सुरु भइसकेको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस