किराना पसलमा नुनको खोसाखोस, दस महिनालाई पुग्ने नुन भण्डारमा

प्रकाश सिग्देल

सोमबार, ०३ चैत्र २०७६, १४ : ४७
किराना पसलमा नुनको खोसाखोस, दस महिनालाई पुग्ने नुन भण्डारमा

चितवन । कोरोना भाईरसको त्रासका कारण बजारमा नुनको अभाव भएको गुनासो बढेपनि नुनको आधिकारिक बिक्रेता साल्ट ट्रेडिङ कर्पोरसन चितवनले भने बजारमा नुनको अभाव नभएको जनाएको छ । 

कोरोनाको प्रकोप भारतमा बढेसंगै भारतले नाकाबन्दी गर्ने र त्यसले गर्दा ठुलो असर नुनमा पर्ने भन्दै सर्वसाधारणहरुले अहिले धमाधम नुनको बढी भण्डारण गर्न थालेकाले बजारमा नुनको माग बढी भएको र नुन ल्याएपछि खोसाखोस हुने गरेको ब्यापारीहरु बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा पनि ब्यापारीहरुले अरु खाद्य बस्तुको अभाव नभएको तर नुन भने एकै जनाले १० किलोसम्म लैजान थालेकाले पसलमा नुन ल्यउनासाथ सकिने गरेको बताएका थिए । नुन सस्तो र अत्यावश्यक भएकै कारण पनि अहिले उपभोक्ताले धेरै भण्डारण गर्न थालेको ब्यापारीहरु बताउँछन् । 

साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय चितवनका प्रमुख बुद्धिबिनोद दाहालले बजारमा नुनको अभाव नभएको र नारायणगढकै गोदाममा पनि कम्तीमा १० महिनालाई पुग्ने नुन मौज्दात रहेकोले आत्तिनु पर्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै उपभोक्ताहरु आत्तिनु पर्ने अवस्था नभएको बताउनु भयो । बजारमा अभावको हावादारी हल्ला चलाएर बजार भाउ बढाउने कालो बजारियाहरुलाई निरुतसाहित गर्नु पर्ने उहाँको भनाई छ ।

आपत विपदमा साल्ट ट्रेडिङले आफनो जिम्मेवारी प्ररा गर्ने गरेको उहाँले बताउनु भयो । अरु आवश्यक खाद्यबस्तु चिनी, दाल, चामल, गेडागुडी समेत आफुहरुको गोदाममा रहेको र सुपथ मुल्य पसलमार्फत बिक्री गरिरहेको दाहालको भनाई छ ।

यसैबीच, साल्ट ट्रेडिङ केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी नुनको अभाव नहुने जनाएको छ । उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रमुख व्रजेशकुमार झाले करिब १० महिनालाई पुग्ने नुन लागायतका खाद्य बस्तुको मौज्दात रहेको जानकारी दिनुभयो ।

हालको अवस्थामा आफ्नो आवश्यकताभन्दा बढी सामान संग्रह गरिएमा कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको जथाभावी मूल्यवृद्धि गर्ने, वस्तुको वास्तविक मूल्यभन्दा बढी मुनाफा कमाउनेलाई फाइदा पुग्न जाने हँुदा  आवश्यक परेको ब्यक्तिले नपाउने अवस्था आउने र बढी मूल्य तिरेर किन्नुपर्ने बाध्यता पर्ने भएकाले त्यस्तो हुन नदिन सबै सचेत हुनु पर्ने दाहालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस