मदिरा सेवनका कारण मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले ३ लाख राहत दिने

सोमबार, ०३ चैत्र २०७६, १० : ४८
मदिरा सेवनका कारण मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले ३ लाख राहत दिने

जनकपुरधाम । होलीको अवसर पारी धनुषामा विषाक्त घरेलु मदिरा सेवन गरेका कारण मृत्यु भएकाहरुको परिवारलाई प्रदेश २ सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बिहान घटनास्थल रमदैया पुगेका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारहरुप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई जनही तीन लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

राहत घोषणा गर्नुका साथै खुल्ला विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेशलाई चाँडै खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताए । त्यस्तै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । प्रहरीको तथ्यांक अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैयामा मदिरा सेवनका ९ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस