‘कोरोना भाइरसले एक दिनमै ५ सयको ज्यान लियो’

सोमबार, ०३ चैत्र २०७६, ०८ : ३५
‘कोरोना भाइरसले एक दिनमै ५ सयको ज्यान लियो’

काठमाडौं । चीनबाट देखिएको कारोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेको बेला युरोपमा महामारीको रूप लिएको छ । कोरोना भाइरसले इटाली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ ।

उच्च सतर्कताकै बीच पनि इटाली, स्पेन र फ्रान्समा कोरोनाले एकैदिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो । बीबीसीका अनुसार, इटलीमा आइतबार ३ सय ६८ कोरोना संक्रमतिको ज्यान गएको छ । योसँगै इटलीमा मात्रै ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ ।

आइतबार मात्रै ३ हजार ५ सय ९० नयाँ बिरामी थपिएका छन् । यहाँको कुल कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ४७ छ । युरोपेली युनियनमा आबद्ध अर्को मुलुक स्पेनमा पनि एकैदिन ९७ मानिसको मृत्यु भएको छ । हालसम्म १ हजार ४ सय ५४ को ज्यान गइसकेको स्पेनमा कुल संक्रमित संख्या ७ हजार ८ सय ४५ छ ।

फ्रान्समा पनि कारोनाको संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । बीबीसीका अनुसार, फ्रान्समा आइतबार ३६ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २७ पुगेको छ । चिनबाट देखिएको यो भाइरसको संक्रमण अहिले भने चिनमा दिनप्रति दिन घट्दो छ ।