भूपिनको आख्यान ‘मैदारो’ पुरस्कृत

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १८ : १६
भूपिनको आख्यान ‘मैदारो’ पुरस्कृत

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । कवि तथा आख्यानकार भूपिनको आख्यान कृति ‘मैदारो’ले सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

साहित्य संगम चितवनले शनिबार भरतपुरमा आयोजना गरेको एक कार्यक्रमबीच सहिद पौडेलका भाइ एवं कार्यक्रमका प्रमुख अतिथि चुडामणि पौडेलले मैदारोका लेखक भूपिनलाई सम्मानपत्रसहित दस हजार रुपैयाँको पुरस्कार अर्पण गरेका थिए ।

साहित्य संगमका उपाध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार इन्द्र रेग्मीले सहिद पौडेलबारे बोलेका थिए । समीक्षक रमेश प्रभातले पुरस्कृत कृति र लेखकबारे मन्तव्य राखेका थिए ।

कवि तथा लेखक भूपिनले आफूले साहित्यमा संघर्ष गरिरहेको बताउँदै पुरस्कार पाउँदा खुसी लागेको बताए । कार्यक्रममा गजलकार धनराज गिरी र चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले शुभकामना मन्तव्य व्यक्त गरे ।

मैदारो भूपिनको पाँचौं कृति हो । यसअघि उनका तीन वटा कविता संग्रह र एउटा निबन्ध संग्रह प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस