माइक्रोसफ्टको संचालक समितिबाट बिल गेट्सले दिए राजिनामा

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १२ : १५
माइक्रोसफ्टको संचालक समितिबाट बिल गेट्सले दिए राजिनामा

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले परोपकारी कार्यमा धेरै समय व्यतीत गर्न आफू उक्त कम्पनीको सञ्चालक समितिबाट बाहिरिने घोषणा गरेका छन्।

उनले विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तन नियन्त्रण गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने इच्छा भएको बताए। संसारका दोस्रा सर्वा्धिक धनी व्यक्ति मानिने गेट्स ६५ वर्षका भए। उनी अर्का धनाढ्य व्यापारी तथा परोपकारी वारन बफेटको विशाल होल्डिङ कम्पनी बाक्शर ह्याथवेको सञ्चालक समितिबाट पनि अलग्गिएका छन्।

गेट्स सन् २००८ देखि नै माइक्रोसफ्टमा दैनिक काम गर्ने भूमिका थिएनन्। माइक्रोसफ्टको सञ्चालक समितिमा नबस्ने घोषणा गर्दै गेट्सले उक्त कम्पनी आफ्नो जीवनको महत्त्वपूर्ण अङ्ग भएको र आफूले कम्पनीको नेतृत्व तहसँग निरन्तर सहकार्य गर्ने बताए।

गेट्स कसरी बने धनी?
फोर्ब्स म्यागजीनले गेट्सलाई संसारका दोस्रा धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ। उनको सम्पत्ति १०३.६ अर्ब डलरबराबर भएको उसको मूल्याङ्कन छ।

एमेजन कम्पनीका मालिक जेफ बेजोस फोर्ब्स म्यागजीनले बनाएको धनाढ्यहरूको सूचीमा शीर्ष स्थानमा छन्। गेट्स कम्प्युटरमा प्रयोग हुने सफ्टवेअरको विकास र व्यापारबाट धनी भएका हुन्।

प्रतिक्रिया दिनुहोस