अग्लो हिल भएको जुत्ताचप्पल भन्दा सामान्य प्रयोग गर्नुस !!

पत्रपत्रिकाबाट

शनिबार, ०१ चैत्र २०७६, ०७ : ३७
अग्लो हिल भएको जुत्ताचप्पल भन्दा सामान्य प्रयोग गर्नुस !!

काठमाडौं ।  तपाईंलाई अग्ला कुर्कुच्चा भएका जुत्ताहरू मन पर्छ ? पार्टी तथा समारोहमा यस्ता अग्ला जुत्ताबिना आफूलाई कमजोर या अपूर्ण भएको महसुस गर्नुहुन्छ ? अब त्यस्तो सोंच हटाइदिनुहोस् र साधारण जुत्ताचलपमा रमाउने प्रयास गर्नुहोस्।

अग्लो हिल भएको जुत्ता प्रयोगले तपाईंलाई अग्लो देखाउने र तपाईंको व्यक्तित्व बढाउने भए पनि त्यसबाट स्वास्थ्यमा देखापर्ने असर भने विचारणीय र मननीय छ। अध्ययनकर्ताहरूले हिल जुत्ताले महिला स्वास्थ्यमा साधारणदेखि गम्भीर प्रकृतिका असर पर्ने गरेको पत्ता लगाएका छन्।

ढाड दुख्ने समस्या
अग्लो हिल भएको जुत्ता महिला फेसनका रूपमा रहेको छ। यसको प्रयोगले महिलाहरू अग्ला, राम्रा र फुर्तिला देखिन्छन्। तर त्यस्तो जुत्ता लगाउँदा खुट्टाहरूले भने पूर्ण रूपमा सहजता प्राप्त गर्दैनन्। अर्थात्, त्यस्ता जुत्ता लगाउँदा खुट्टाले असन्तुलित रूपमा शरीरको तौल धान्नुपर्ने परिस्थिति सिर्जना हुन्छ। असन्तुलनले मेरुदण्डमा असन्तुलन अर्थात् असामान्य स्थिति पैदा भई शरीरको पछिल्लो भाग दुख्ने गर्छ। यस अर्थमा हिल जुत्ता लगाउँदा हुने शारीरिक असन्तुलनले ढाड दुख्ने समस्या निम्तिन्छ।

पिँडुलामा पीडा
अग्लो हिल भएको जुत्ताले पिँडालुमा समेत पीडा दिने हुन्छ। अग्लो हिलले खुट्टाको नसा फुलाउँछ। त्यसो हुनु पिँडुलामा भित्री रूपमा पीडा सिर्जना हुनु हो र स्वास्थ्य समस्या सिर्जना हुनु हो। तपाईं आफ्नो खुट्टा स्वस्थ राख्न चाहनुहुन्छ भने अग्ला हिल भएका जुत्ता प्रयोग गर्न छाडिदिनुहोस्।

पैतालाको दुखाइ  
अग्ला हिल भएका जुत्ताका टुप्पामा हुने निश्चित आकार र डिजाइन खालि फेसनका लागि मात्र हुन्। लामो समय त्यसको प्रयोगपछि तपाईं पैतालाको दुखाइबाट पीडित बन्नुहुन्छ। यस्तो जुत्ताको प्रयोगले पैताला, बुढी औंला, अघिल्लो भागमा पर्ने चापले दुखाइ बढ्दै जान्छ।

खुट्टा मर्किने समस्या
हिलवाला जुत्ता लाएर सजिलो ठाउँमा हिँड्न मात्र प्रयोग गर्न सकिन्छ। खाल्डाखुल्डी परेका सडक, गिट्टी भएका, कच्ची सडकमा हिँडे तपाईंको खुट्टा चिप्लिएर कुुर्कुच्चा भाँचिन सक्छ। घुँडा र गोलीगाँठोमा चोट लाग्न सक्छ। तपाईं हिँड्ने जमिन समतल भए पनि यस्तो जुत्ताको दैनिक प्रयोगले तपाईंको हिँडाइ नै रोकिन सक्छ। यस्ता जुत्ता प्रयोग गर्नेैपरे केवल विशेष कार्यक्रममा थोरै समयका लागि मात्र हुनुपर्छ।

मेरुदण्ड तीव्र दुखाइ
फेसनमा रुची हुनेहरू चुच्चो परेका तिखा सिसाजस्ता हिल भएका जुत्ता प्रयोग गर्छन्। तर त्यसले गर्दा कम्मरको तल्लो भागमा चाहिनेभन्दा बढी चाप पर्छ। अग्ला हिल सीधै कम्मरको तल्लो भागमा समानुपातिक डिग्रीमा रहेको हुन्छ। कम्मरको तल्लो भाग या ढाड दुख्नुको मुख्य कारणमा अग्लो हिलको प्रयोग पनि हो।

रक्तनलीमा चाप पर्ने
अग्ला हिलको प्रयोग गरे रक्तनलीमा चाप पर्न जान्छ। अग्ला हिल भएका जुत्ता प्रायः पातला तथा अग्ला हुन्छन्। अग्ला जुत्ताको प्रयोग गर्दा खुट्टामा चाप पर्छ। खुट्टामा पर्ने चापले रक्तनलीमा पनि चाप परेको हुन्छ। यो चापको परिणाम रक्तनलीहरू पनि फुट्न सक्छन्। जुत्ता प्रयोगकै कारण यस्तो गम्भीर समस्या पर्नु उचित होइन। 

खुट्टा बांगिन सक्ने
अग्लो जुत्ताको सबैभन्दा बढी प्रभाव पर्ने क्षेत्र भनेको पैताला हो। अग्लो हिलको अप्राकृतिक स्थितिले पिँडुलाका रक्तनलीमा चाप पर्छ। यसको परिणाम खुट्टाहरू बाँगिन्छन्। यस्तो अवस्थालले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

खुट्टाको मांसपेसी कमजोर बन्ने
अग्ला हिलले तपाईंको खुट्टाको मांसपेसीलाई कमजोर बनाउँछ। त्यस्तो स्थितिमा तपाईंको सौन्दर्य चेतले स्वास्थ्यमा प्रतिकूल स्थिति निम्तिन सक्छ। तपाईं यस्ता फेसनदार जुत्ता हटाएर आफ्ना खुट्टामा चोटपटक लाग्नबाट बचाउन सक्नुहुन्छ।

घुँडा दुख्ने समस्या
अग्लो, भद्दा र घुमाउरो खुट्टा भएकाले हिल लगाए घुँडामा बढी दबाब पर्छ। त्यसले गर्दा बिस्तारै घुँडा खिइँदै जान्छ। यस अर्थमा यो पनि हड्डी खिइनुको कारणमा हिल जुत्तालाई लिन सकिन्छ।

खुट्टाको पन्जामा संकुचन
भद्दा हिलको प्रयोगले देखापर्ने अर्को असर भनेको खुट्टाको पन्जामा स्थायी रूपमै संकुचन हुन्छ। यस्तो अवस्तो लामो समय रहे खुट्टाको सौन्दर्यमा ह्रास आउँछ। यो अवस्था स्वास्थ्यका लागि प्रतिकूल पनि हुन सक्छ।

तपाईंले यो पनि थाहा भयो कि अग्ला हिलले तपाईंको स्वास्थ्यमा धेरै किसिमका असर पर्छन्। अब हिलको प्रयोगले स्वास्थ्यमा पार्ने असरबारे सुत्नुअघि दुईपटक सोच्नुहोस्। यदि हिल जुत्ताको प्रयोगले यीमध्ये कुनै न कुनै असर परिसकेको छ भने आजैबाट छाड्नुहोस् र थप असरबाट बच्नुहोस्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस